


काठमाडौं,२२ जेठ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयसीमा थप एक साताका लागि लम्ब्याएको छ।
महामन्त्री तथा क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलको नेतृत्वमा बसेको समितिको बैठकले विभिन्न तहबाट समय अपुग भएको गुनासो आएपछि अवधि थप्ने निर्णय गरेको हो ।

यसअघि जेठ २१ गतेसम्म कायम गरिएको अवधि अब जेठ २८ गते राति १२ बजेसम्म कायम रहने कांग्रेसले जनाएको छ।
सदस्यता व्यवस्थापन समितिले जारी गरेको सूचनमा भनिएको छ-‘पछिल्ला दिनहरुमा क्रियाशील सदस्यता अद्यावधिकको कार्य देशभरि अत्यन्त उत्साहजनक रुपमा अगाडि बढिरहेको छ। पार्टीका विभिन्न तहहरुबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भएको जानकारी प्राप्त हुन आएकोले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकको निर्णयानुसार क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि २०८३ जेठ २८ गते राति १२ः०० बजेसम्म अन्तिम पटकका लागि कायम गरिएको छ ।’
वैशाख १ गतेदेखि सञ्चालनमा रहेको सदस्यता अद्यावधिक अभियानअन्तर्गत बिहीबारसम्म करिब चार लाख सदस्यले आफ्नो विवरण नवीकरण गरिसकेको समितिले जनाएको छ।
यता पार्टीका पूर्व सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले भने क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियाप्रति असहमति जनाउँदै आएका छन्।

