


काठमाडौं,२२ जेठ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किन लागेका छन् । उनी स्वदेश फर्किदै गर्दा परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भारत भ्रमणका लागि केहीसमय अघि विमानस्थलमा पुगेका छन्।
पाँचदिने भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर, भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन लगायत विभिन्न वरिष्ठ नेतासहित उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए।

भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनालको जेठ २२ देखि २४ गतेसम्म भारत भ्रमणको तालिका सार्वजनिक गरिएको छ।
विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खनालले देशको प्राथमिकताका सम्बन्धमा संवाद गर्ने बताए। ‘हाम्रा प्राथमिकताका विषयमा हामी संवाद गर्छौं’,उनले भने,‘अहिले उठेका सबै विषयमा संवाद गर्छौं।’
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, भ्रमणका क्रममा मन्त्री खनालले नयाँदिल्लीमा भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।
वार्तामा नेपाल–भारतबीचको व्यापार, कनेक्टिभिटी, ऊर्जा व्यापार तथा दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ। परराष्ट्रले दुई देशबीच हुँदै आएको नियमित उच्चस्तरीय भ्रमणको आदानप्रदानको निरन्तरताको रुपमा यो भ्रमण हुन लागेको जनाएको छ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भ्रमणले नेपाल र भारतबीचको ऐतिहासिक, स्थायी र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझै बलियो बनाउने प्रयास रहने व्यक्त गरिएको छ।

