


बर्दिया,३१ जेठ। बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरमा भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। साथै, सशस्त्र प्रहरीका एक जवान र ट्रक चालक घाइते भएका छन्।
फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत बर्दिया बासगढी नगरपालिका–५ मोतिपुर का ३५ वर्षीय सहायक हवल्दार तिलक कडेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

अवैध रुपमा भारततर्फ लैजान लागिएका २ वटा भैंसी र १ वटा पाडो नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा नेपालगञ्जबाट गुलरियातर्फ आउँदै गरेको बाप्र ०३–००१ ख १४१२ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार, दुर्घटनामा बर्दिया बासगढी नगरपालिका–८ ककौराका ३५ वर्षीय सशस्त्रका जवान दीपककुमारजङ शाह र ट्रक चालक मकवानपुरको बागमती गाउँपालिका–५ सामरीका ४० वर्षीय निरञ्जन दर्जी पनि घाइते भएका छन्।
घाइते शाहको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा चालक दर्जीको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

