


भैरहवा,८ असार। रुपन्देहीको ओमसतिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड १० लाख ५४ हजार रुपैयाको बजेट तथा कार्यक्रम ल्याएको छ। सोमबार सम्पन्न गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष सुनिता चौधरीले उक्त बजेट तथा कार्यक्रम सभा समक्ष प्रस्तुत गरेकी हुन्।
सहभागिता, समावेशिता, सामाजिक न्याय, पारदर्शिता, दिगो विकास र सुशासनलाई आधार मानेर तयार पारिएको बजेटले गाउँपालिकावासीको आवश्यकता तथा अपेक्षालाई सम्बोधन गर्ने लक्ष्य लिएको चौधरीले जनाइन्। बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी, वातावरण संरक्षण तथा प्रशासनिक सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ।

उनका अनुसार, आगामी आर्थिक वर्षका लागि कुल ५१ करोड १० लाख ५४ हजार रुपैया बराबरको स्रोत व्यवस्थापनको अनुमान गरिएको छ। संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड ८७ लाख रुपैया, सशर्त अनुदानतर्फ १६ करोड १९ लाख र समपूरक अनुदानतर्फ ४० लाख रुपैया प्राप्त हुने अपेक्षा गरिएको छ। त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ८१ लाख ८३ हजार, सशर्त अनुदान १ करोड ५५ लाख र समपूरक अनुदान ७५ लाख रुपैया प्राप्त हुने अनुमान गरिएको छ।
बजेटमा संघीय सरकारबाट राजस्व बाँडफाँडमार्फत ९ करोड ७८ लाख ६२ हजार, प्रदेश सरकारबाट ९९ लाख ०९ हजार तथा स्थानीय राजस्व बाँडफाँडबाट १ करोड ५० लाख रुपैया प्राप्त हुने प्रक्षेपण गरिएको छ। गाउँपालिकाको आन्तरिक स्रोतबाट ३ करोड ७५ लाख रुपैया संकलन गर्ने लक्ष्य राखिएको छ ।
खर्चतर्फ चालु खर्चका लागि ३३ करोड ८९ लाख ३५ हजार रुपैया विनियोजन गरिएको छ भने विकास निर्माण तथा पुँजीगत कार्यक्रमका लागि १७ करोड २१ लाख १९ हजार रुपैया छुट्याइएको छ। गाउँपालिकाले विकास र सेवा प्रवाहबीच सन्तुलन कायम गर्दै बजेट कार्यान्वयन गर्ने नीति लिएको जनाएको छ।
बजेटले प्रशासनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित गाउँपालिकाको मुख्य प्रशासकीय भवन निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। भवन निर्माण सम्पन्न भएपछि सम्पूर्ण प्रशासनिक सेवा एकीकृत रुपमा सञ्चालन गरिने र नागरिकलाई सहज तथा छिटो सेवा उपलब्ध गराइने उपाध्यक्ष चौधरीले बताइन्।
बजेटले गाउँपालिकाको आवधिक योजनाले निर्धारण गरेका लक्ष्य तथा उद्देश्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त गरिन्। उनले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सुशासनका क्षेत्रमा प्रभावकारी कार्यक्रम कार्यान्वयनमार्फत ओमसतियाको समग्र विकासलाई गति दिने र गाउँपालिकाको आत्मसम्मान तथा गौरव अभिवृद्धि गर्ने बताइन्।
गाउँसभामा प्रस्तुत बजेटमाथि छलफल गरी आवश्यक सुझावसहित पारित गरिने प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ। यस्तै गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले प्रस्तुत गरेको पालिकाको निति तथा कार्यक्रम सर्वसम्मतिमा पारीत भएको छ। उनले सभा समक्ष पालिकालाई सुशासित, समृद्ध, प्रविधिमैत्री र नागरिकमैत्री स्थानीय सरकारका रुपमा स्थापित गर्ने लक्ष्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
प्रस्तुत नीति तथा कार्यक्रममा स्थानीय तहलाई संविधानले प्रदान गरेको अधिकार, दायित्व र जिम्मेवारीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै गाउँवासीको आवश्यकता र उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
गाउँपालिकाले आम नागरिकको अपेक्षा र दिगो विकासका आधारभूत प्राथमिकतालाई केन्द्रमा राखेर बहुआयामिक योजनाहरु अघि सारेको जनाएको छ। सन्तुलित र समावेशी विकास अन्र्तगत नीति तथा कार्यक्रमले आर्थिक, सामाजिक, भौतिक, वातावरणीय तथा संस्थागत विकासका सम्पूर्ण आयामहरुलाई समेटेको छ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसको सफल कार्यान्वयनका लागि एकल प्रयास मात्र पर्याप्त नहुने अध्यक्ष यादवले उल्लेख गरे। उनले स्थानीय विकासको साझा लक्ष्य हासिल गर्न सबै पक्षको साथ आवश्यक रहेको बताए। उनले नीति तथा कार्यक्रमले ओमसतियाको समग्र विकास, समावेशी समृद्धि र दिगो पूर्वाधार निर्माणमा दूरगामी महत्व राख्ने अपेक्षा गरिएको जनाए।

