


भैरहवा,८ असार। रुपन्देही जिल्लामा चालु आर्थिक वर्षको ११ महिना (साउन देखि जेठ) मा २७ हजार ४६२ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार, उक्त अवधिमा सबैभन्दा बढी २५ हजार ९२७ जनाले वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन्।

त्यस्तै २९२ जनाले अङ्गीकृत, एक हजार १७६ जनाले वैवाहिक अङ्गीकृत, एक जनाले जन्मसिद्ध र ६७ जनाले गैरआवासीय नेपाली (एनआरएन) नागरिकता प्राप्त गरेका छन्।
प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार, ०८० कार्तिक देखि ०८३ जेठ मसान्तसम्म कुल २५७ जनाले गैरआवासीय नेपाली (एनआरएन) नागरिकता लिएका छन्।
उनले नागरिकता वितरण प्रक्रियालाई छिटो, सहज र पारदर्शी बनाउने प्रयास भइरहेको बताउँदै सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन प्रशासन प्रतिबद्ध रहेको बताए।
रुपन्देही जिल्लामा जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रशासन कार्यालय मझगाँवा, इलाका प्रशासन कार्यालय बुटवल र इलाका प्रशासन कार्यालय मानपकडीबाट नागरिकताको प्रमाणपत्र प्रदान गर्ने गरिएको छ।

