


सलमान खान
भैरहवा, असार। चौधरी ग्रुपको उत्पादन रियो ब्राण्ड अन्तर्गतको ‘म्याङ्गो एन्ड ग्लुकोज’ (जुस) मा लेदो भेटिएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामको प्रकृति गौतम र बिन्दु भट्टराईले (नातामा दिदी) योगिकुटीस्थित एक पसलबाट खरिद गरेको रियो ब्राण्ड अन्तर्गतको ‘म्याङ्गो एन्ड ग्लुकोज’ मा लेदो भेटिएको हो।

उपभोक्ता गौतमका अनुसार, पाँच वटा रियोको ‘म्याङ्गो एन्ड ग्लुकोज’ खरिद गरिएकोमा दुई वटा अखाद्य पाइएको छ । ‘मैले एउटा खाँदा स्वाद फरक पाए र मुखमा लेदो जस्तो आएपछि थुके’,उनले भनिन्,‘पछि खोलेर हेर्दा त्यसमा लेदो थियो।’
अखाद्य रियो खाएपश्चात ज्वरो र उल्टी आउने जस्तो भएर आफु अस्वस्थ्य भएको उनको भनाइ छ । उनले उक्त घटनाबारे आफ्नो वडाको अध्यक्षलाई जानकारी गराएपनि कुनै कारवाही भएको विषयमा जानकारी नभएको र कम्पनीको विरुद्ध कारवाही हुनुपर्ने बताइन्।
गौतम र भट्टराईले रियोमा लेदो भेटिएको विषयमा संयुक्त रुपमा बनाएको भीडियोमा भट्टराईले भनेकी छिन्–‘अभिभावकहरुले यस्ता प्रकारका जुस बालबालिकाहरुलाई नदिन र घरमै बनाइएको मही, कागती–पानीको प्रयोग गर्नुहोला । लेदो, किरा जस्तो पेटमा गयो भने ज्यान पनि जान सक्छ । बालबालिकाहरुले खाँदा ख्याल गर्नुहोला । र, भोलीको दिनमा पनि यस्तो घटना नदोहोरिनका लागि रियो ब्राण्डको कम्पनीतर्फ नेपाल सरकारको पनि ध्यानार्कषण होस्।’
चौधरी ग्रुपको रियो ब्राण्डसँगका सम्बन्धित लुम्बिनी प्रदेशका प्रबन्धक धनलाल न्यौपानेले उत्पादित वस्तु ७२ घण्टापछि मात्र बजारमा जाने गरेकोले कम्पनीको कुनै लापरवाही नहुने बताए।
व्यापारीको स्टोरेज डिफल्ट वा वस्तुमा स–साना प्वाल भएको अवस्थामा अक्सिजन ग्याँसका कारण पनि उत्पादित वस्तुमा असर पर्न सक्ने उनको भनाइ छ । उनले फिल्डमा गएपछि मात्र लेदो भेटिनुका कारण थाहा हुने बताए ।

