


भैरहवा,२१ असार। रुपन्देही प्रहरीले बिचौलियाको कार्य गरेको आरोपमा चार जना भारतीय नागरिकहरुलाई नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दका अनुसार, भैरहवा भन्सार कार्यालयको यात्रु शाखामा बिचौलियाको कार्य गरी यात्रुहरुलाई हैरानी दिइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीबाट डग स्निफिङ समेतका लागि खटिएको संयुक्त टोलीले गरेको स्वीप अपरेसन अन्तर्गत उनीहरुलाई बेलहियाबाट नियन्त्रणमा लिइएको हो ।
भारतको महाराजगञ्ज जिल्ला कुलहीका २१ वर्षीय राज पाल, कुशीनगर जिल्लाका २१ वर्षीय विपिन कुसुवा, सोही स्थानका २२ वर्षीय साजित अन्सारी र गोरखपुर, इटहियाका २५ वर्षीय अमित यादव नियन्त्रणमा रहेको प्रहरीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
पालको साथबाट चार हजार ९५० भारतीय रुपैयाँ, ४०० नेपाली रुपैयाँ, एक थान मोबाइल बरामद भएको छ भने कुसुवाले प्रयोग गरेको यूपी ५७ सीइ ११७९ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिएर उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

