


सलमान खान
मर्चवार,२२ असार । रुपन्देहीको कोटहीमाई गाउँपालिका कार्यालयको आयुर्वेद औषधालय सेवा प्रभावकारी देखिएको छ । सेवा प्रभावकारी भएसँगै औषधालयमा सेवाग्राहीको आकर्षण बढ्दै गएको छ।
पालिकाको मझागाँवास्थित २०४५ सालमा स्थापना भएको आयुर्वेद औषधालयमा पेटसम्बन्धी समस्या, बाथ, पाइल्स, उच्च रक्तचाप, मधुमेह, जन्डिस, पत्थरी, नसा सम्बन्धी, स्तनपाई (सुत्केरी महिलाका लागि) लगायतका विभिन्न रोगको उपचार तथा पञ्चकर्म अन्तर्गत थेरापी सेवा प्रदान गर्ने गरिएको कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवले बताए।

उक्त औषधालयमा कोटहीमाईका साथै विभिन्न स्थानबाट समेत उपचारका लागि बिरामी आउने गरेका छन् । औषधालयका अनुसार, दैनिक औसत ८० जना सेवाग्राहीले सेवा लिने गरेका छन्।
‘आयुर्वेद औषधालय सेवा प्रभावकारी रहेकै कारण पालिकावासीका साथै अन्य स्थानबाट पनि सेवाग्राहीहरु आउने गरेका छन्’,उनले भने,‘जहाँ हामीले सबैलाई एक बराबर सेवा प्रवाह गर्ने गरेका छौं।’
औषधालयको वरिष्ठ बैध सुशीला अर्यालले औषधालयमा कटिवस्ती, सिरोधारा, स्नेहन–स्वेदनजस्ता पञ्चकर्म थेरापी सेवा पनि प्रदान गर्ने गरिएको जानकारी दिइन् । उपचारसँगै बिरामीलाई आवश्यक व्यायामसम्बन्धी परामर्श पनि दिइने गरिएको छ।
औषधालयमा ६५ भन्दा बढी प्रकारका आयुर्वेदिक औषधि उपलब्ध छन्। बजारमा एलोपेथिक औषधि सेवन गर्दा पनि नियन्त्रणमा नआएका उच्च रक्तचापलगायतका बिरामी यहाँ आएर स्वास्थ्यमा सुधार भएको अनुभव सुनाउने गरेको उनी बताउँछिन्।

अन्य अस्पतालमा उपचार गराएर पनि निको नभएका तथा भारतको गोरखपुरसम्म उपचार गराएका केही बिरामीले समेत यहाँ उपचारपछि राहत पाएको उनको भनाइ छ।
‘सेवा प्रभावकारी भएकै कारण धेरै टाढा टाढाबाट पनि विरामीहरु आउँछन्’,उनले भनिन्,‘बिरामीको अवस्था अनुसार हामीले यहाँ आयुर्वेद पद्धतिबाट उपचार सुरु गर्छौं।’
औषधालयमा सेवा लिन आएका कोटहीमाई गाउँपालिका–५ मझागाँवाका कोमल यादवले निजी क्लिनिकमा १५ दिन उपचार गर्दा पनि निको नभएपछि आयुर्वेद औषधालयमा आएको र यहाँको औषधि सेवनपछि स्वास्थ्यमा सुधार भएको बताए।
त्यस्तै कोटहीमाई–४ बैरघाटका एक सेवाग्राहीले पेटमा ग्यास, हात सुन्निने, ढाड तथा खुट्टा दुख्ने र भोक नलाग्ने समस्या आयुर्वेदिक उपचारबाट कम हुँदै गएको अनुभव सुनाए।
स्वास्थ्य समस्याका कारण उपचारका लागि औषधालयमा आएकी कोटहीमाई–५ मझागाँवाकी गुडिया यादवले औषधालयको उपचारप्रति विश्वास बढेको प्रतिक्रिया दिइन्। उनले उपचारका लागि आफुले औषधालयकै सेवा लिने गरेको सुनाइन्।
औषधालयमा कार्यरत औषधि कुटुवा धनश्याम प्रसाद कुर्मीले औषधालयप्रति नागरिकको विश्वास बढ्दै गएको र गुणस्तरीय सेवा प्रवाहलाई निरन्तरता दिइएको बताए।

स्थानीयवासीले सहज पहुँच, निःशुल्क तथा उपचारको सकारात्मक परिणामका कारण कोटहीमाईको आयुर्वेद औषधालयप्रति विश्वास बढ्दै गएको बताएका छन् ।

