


काठमाडौं,२२ असार। सार्वजनिक स्थानमा युवतीलाई गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा प्रहरीले एक जना सरकारी कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२, इमाडोल का ५५ वर्षीय सुरेन्द्र भट्ट रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानबाट भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रुपमा कार्यरत छन्।

आइतबार साँझ इमाडोलस्थित एक गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई लक्षित गर्दै भट्टले अश्लील व्यवहार गर्दै आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेको आरोप छ। घटनापछि युवतीले हिम्मतका साथ मोबाइलबाट आरोपीको भिडियो खिच्दै उनलाई पछ्याएकी थिइन्।
युवतीले उक्त भिडियो सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गर्दै आरोपीलाई पक्राउ गरिदिन आग्रह गरेकी थिइन्।
पीडितले प्रहरीमा निवेदन दिएपछि प्रहरी वृत्त सातदोवाटो ललितपुरको टोलीले भट्टलाई पक्राउ गरेको हो। पक्राउ परेका आरोपीलाई प्रहरी वृत्तको सातदोवाटोको हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

