


भैरहवा,२२ असार। आधुनिक पूर्वाधार, अत्याधुनिक स्वास्थ्य उपकरण, सरसफाइ तथा लिफ्टसहितका सुविधाका कारण लामो समयसम्म धेरैले भैरहवा क्षेत्रस्थित सिद्धार्थनगर सिटी हस्पिटललाई महँगो निजी अस्पतालका रुपमा बुझ्ने गरेका थिए। तर, पछिल्ला वर्षहरुमा अस्पतालले सञ्चालन गरेका सुलभ स्वास्थ्य सेवा कार्यक्रमले उक्त धारणा परिवर्तन हुँदै गएको देखिएको छ।
अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलका अनुसार, विपन्न तथा मध्यमवर्गीय नागरिकलाई अस्पतालमा सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न सेवा न्यून शुल्कमा प्रदान गरिँदै आएको छ।

विशेषज्ञ चिकित्सकसँग एक सय पचास रुपैयाँमा परामर्श, पाँच सय रुपैयाँमा बिरामी भर्ना सेवा, सरकारी अस्पतालमा प्रचलित शुल्क सरह दुई हजार दुई सय रुपैयाँमा सुलभ आयुष्मान प्याकेज तथा आठ सय रुपैयाँमा अल्ट्रासाउन्ड सेवा उपलब्ध गराइएको अस्पतालले जनाएको छ।
त्यस्तै स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बिरामीले स्वास्थ्य बिमा बोर्डले निर्धारण गरेको शुल्कअनुसार ५० रुपैयाँमै ओपीडी सेवा लिन सक्ने व्यवस्था गरिएको छ। एक्स–रे, प्रयोगशाला परीक्षण, भिडियो एक्स–रे लगायतका आवश्यक परीक्षणहरु पनि बिमा बोर्डले तोकेको शुल्कमै उपलब्ध गराइँदै आएको अस्पतालको भनाइ छ।
एपेन्डिक्स, हर्निया तथा पित्तथैलीको पत्थरीजस्ता शल्यक्रियासमेत स्वास्थ्य बिमा तथा सुलभ शुल्कमै गरिँदै आएकाले आर्थिक रुपमा कमजोर बिरामीलाई उल्लेखनीय राहत पुगेको प्रबन्ध निर्देशक पौडेलले बताए।
‘सुलभ शुल्कमै गुणस्तरीय उपचार सेवा प्रवाह गर्न थालेपछि विगतमा महँगो ठानेर अन्यत्र उपचार गराउने बिरामीले अहिले यही अस्पताल रोज्न थालेका छन्’,उनले भने,‘पछिल्लो समय बिरामीको संख्या बढ्नु पनि बढ्दो जनविश्वासको रहेको हाम्रो बुझाई छ।’
सरकारी अस्पतालको तुलनामा शुल्कको अन्तर धेरै नरहेको अनुभव गरेका सेवाग्राहीहरु सुलभ शुल्क, छिटो उपचार र सहज सेवाका कारण पछिल्लो समय सिद्धार्थनगर सिटी हस्पिटल रोज्न थालेको अस्पताल प्रशासनको दावी छ।
भाइको उपचारका लागि अस्पतालमा कुरुवा बसेका रामप्रसाद कहारले उपचार गराउनु अघि अस्पताल महँगो लागेपनि उपचार शुल्क सुलभ नै रहेको बताए ।
सामान्य उपचारदेखि जटिल शल्यक्रियासम्मका सेवा एउटै अस्पतालबाट उपलब्ध गराउँदै आएको सिद्धार्थनगर सिटी हस्पिटलले विशेषगरी टाउकोको चोटपटक, मस्तिष्क तथा स्पाइन (ढाड) सम्बन्धी जटिल शल्यक्रिया सेवा पनि उपलब्ध गराइरहेको जनाएको छ।
यसअघि यस्ता उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने अवस्था रहेकामा अहिले स्थानीयस्तरमै सेवा उपलब्ध हुँदा विशेषगरी ग्रामीण तथा विपन्न परिवारका बिरामीको समय, खर्च र सास्तीमा उल्लेखनीय कमी आएको पाइएको पौडेलको भनाइ छ।
अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा विपन्न बिरामीका लागि निःशुल्क शल्यक्रिया, निःशुल्क बेड सुविधा तथा अन्य सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
आर्थिक अवस्थाका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ अस्पतालले सुलभ, गुणस्तरीय र सबैको पहुँचमा पुग्ने स्वास्थ्य सेवामा निरन्तर प्राथमिकता दिँदै आएको बताएको छ।
आधुनिक सुविधा, दक्ष विशेषज्ञ चिकित्सक, सुलभ शुल्क तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ अघि बढिरहेको सिद्धार्थनगर सिटी हस्पिटल पछिल्लो समय विपन्न तथा मध्यमवर्गीय परिवारका लागि समेत विश्वासिलो स्वास्थ्य सेवा केन्द्रका रुपमा स्थापित हुँदै गएको अस्पताल प्रशासनको दावी छ।

