


काठमाडौं,२३ असार। प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबीच शिष्टाचार भेटवार्ता भएको छ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्दाबीच भेटवार्ता भएको हो।

भेटमा नेपाल-एडीबी सहकार्य, विकास आयोजना तथा आर्थिक सहयोगका विषयमा छलफल भएको बताइएको छ।
यसअघि सोमबार नेपाल सरकार र एडीबीबीच अर्थ मन्त्रालयमा दुईवटा आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि १६५ मिलियन अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको थियो।
अर्थ मन्त्रालयका अनुसार, हस्ताक्षर भएका सम्झौतामध्ये ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना’ का लागि ११५ मिलियन अमेरिकी डलर (करिब १७ अर्ब ५० करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण परिचालन गरिनेछ। उक्त रकम स्थानीय तहमा खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी एकीकृत पूर्वाधार निर्माणमा खर्च गरिने जनाइएको छ।

