


काठमाडौं,२६ असार। शिक्षा तथा खेलकुद मन्त्रालयले पूर्वस्वीकृतिबिना ए–लेभल, सीबीएसई, आईबीडीपीलगायत विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेपछि मन्त्रालयले त्यसको कार्यान्वयनलाई कडाइका साथ अघि बढाएको हो।

मन्त्रालयका अनुसार, विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार र प्रभावकारी नियमनका लागि उक्त नियमावली लागू गरिएको हो।
शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलका अनुसार, केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको पाइएको छ। त्यसैले प्रचलित कानुनी व्यवस्थाबारे पुनः जानकारी गराउँदै नियमको पालना गर्न सम्बन्धित संस्थालाई आग्रह गरिएको उनले बताए।
मन्त्रालयले अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाबारे जानकारी भएमा तीन दिनभित्र लिखित रुपमा मन्त्रालयमा सूचना उपलब्ध गराउन सरोकारवालासँग अनुरोध गरेको छ।
मन्त्रालयका अनुसार, उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले लागू गरिएको उक्त नियमावलीअन्तर्गत नेपालमा विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थासँग सम्बन्धन लिएर सञ्चालन हुने शैक्षिक कार्यक्रमका लागि नयाँ मापदण्ड लागू हुनेछ।

