


काठमाडौं,३१ असार। नेपाल सरकारले विपद् खोज तथा उद्धार कार्यमा उच्च जोखिममा खटिने सशस्त्र प्रहरी बलका विशेष तालिमप्राप्त उद्धारकर्तालाई प्रोत्साहन तथा उच्च जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयअनुसार ,उद्धार कार्यमा खटिने कर्मचारीले मासिक आधारभूत तलबको १५ प्रतिशत प्रोत्साहन भत्ता प्राप्त गर्नेछन्। साथै, उच्च जोखिमयुक्त क्षेत्रमा खटिएको प्रत्येक दिन ५०० रुपैयाँका दरले उच्च जोखिम भत्ता पनि उपलब्ध गराइनेछ।

यो सुविधा गोताखोर तथा उच्च हिमाली भूभागजस्ता अति जोखिमयुक्त क्षेत्रमा खटिने सशस्त्र प्रहरीका उद्धारकर्तालाई प्रदान गरिनेछ। सरकारले यस निर्णयले उद्धारकर्मीको मनोबल अभिवृद्धि गर्नुका साथै विपद् खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

