


काठमाडौं,३२ असार। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन तथा छानबिनसम्बन्धी सबै प्रक्रिया हालका लागि स्थगित गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले अर्को आदेश नभएसम्म कसैसँग पनि सम्पत्ति विवरण माग नगर्न तथा प्राप्त विवरणमाथि कुनै प्रकारको छानबिन नगर्न आयोगका नाममा अन्तरिम आदेश जारी गरेको हो।

यसअघि आयोगले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जवाफदेही पदमा रहेका तथा पूर्व पदाधिकारी र कर्मचारीसँग सम्बन्धित सम्पत्ति विवरण संकलन भइरहेको जनाएको थियो। तर, आयोगको उक्त प्रक्रियाविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले तत्कालका लागि सम्पत्ति विवरण संकलन र छानबिन रोक्न आदेश दिएको हो।
सर्वोच्चको आदेशपछि आयोगले विवरण संकलन, प्राप्त विवरणको परीक्षण तथा छानबिनलगायतका सबै काम अर्को आदेश नभएसम्म स्थगित गरेको जनाएको छ।


