


काठमाडौं,६ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको हस्तकला क्षेत्रको प्रवर्द्धन, विस्तार र रोजगारी सिर्जनाका लागि सरकारले विशेष प्राथमिकता दिने बताएका छन्।
बुधबार सिंहदरबारमा नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले हस्तकला नेपालको पहिचानसँग जोडिएको क्षेत्र भएकाले यसको विकास र विस्तारमा सरकार प्रतिबद्ध रहेको बताए। उनले सातै प्रदेशमा हस्तकलाग्राम स्थापना गरी रोजगारी सिर्जना गर्न महासंघ तथा सम्बन्धित निकायसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

छलफलमा प्रधानमन्त्रीले हस्तकलामार्फत नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै निर्यात वृद्धि र राजस्व अभिवृद्धि गर्ने सरकारको लक्ष्य रहेको पनि उल्लेख गरेका थिए।
नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यका अनुसार महासंघले विगत १५ वर्षदेखि मनाउँदै आएको हस्तकला दिवसलाई राष्ट्रियकरण गर्ने प्रस्ताव राखेको थियो। उक्त प्रस्ताव सम्बन्धित निकायमार्फत अघि बढाउने प्रतिबद्धता प्रधानमन्त्रीबाट प्राप्त भएको उनले जानकारी दिए।
अध्यक्ष शाक्यका अनुसार हस्तकला क्षेत्रका समस्या, चुनौती र अवसरको समग्र मूल्याङ्कन तथा समाधानका लागि हस्तकला विकास बोर्ड गठन गर्ने विषयमा पनि प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका छन्। साथै, केही वर्षदेखि रोकिएको ‘सार्क हस्तकला विकास केन्द्र’ सम्बन्धित निकायसँग समन्वय गरी यथाशीघ्र सञ्चालनमा ल्याउने विषयमा पनि छलफल भएको उनले बताए।

