


भैरहवा, ६ साउन। नेपाली कांग्रेस सिद्धार्थनगर नगरपालिकाका तरुण दलका पूर्वउपाध्यक्ष टीका बहादुर जि.सी. ले पार्टीको आन्तरिक एकता जोगाउन नेतृत्वलाई समयमै संवाद, लचकता र जिम्मेवारी प्रदर्शन गर्न आग्रह गरेका छन्।
पार्टी सभापति (गगनकुमार थापा) लाई सम्बोधन गर्दै लेखिएको ध्यानाकर्षण पत्रमा उनले देश र पार्टी इतिहासकै संवेदनशील मोडमा रहेको उल्लेख गर्दै गुटगत तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई एकढिक्का बनाउनु आजको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन्।

उनले पार्टीभित्र देखिएको असमझदारी समाधानका लागि संस्थापन पक्ष र पुराना अग्रज नेताहरु दुवैले आवश्यक लचकता अपनाएर संवादमार्फत निकास खोज्नुपर्ने धारणा राखेका छन्। नेतृत्वको अनुभव र जिम्मेवारीलाई मध्यनजर गर्दै दुवै पक्षले ‘१९–२० को लचकता’ अपनाउनुपर्ने उनको सुझाव छ।
पूर्वउपाध्यक्ष जि.सी.ले पार्टी फुटाउने वा फुटाउने प्रयासका गतिविधिले तल्लो तहका कार्यकर्तामा मानसिक पीडा र आघात पुराएको सभापतिसहित दुवै पक्षका विभिन्न शीर्ष नेताहरुलाई पठाइएको पत्रमा उल्लेख छ।
पार्टी कुनै नेता विशेषको मात्र नभई लाखौं कार्यकर्ताको पसिना र सहिदहरूको रगतले सिञ्चिएको साझा घर भएकाले सबैलाई समेटेर अघि बढ्ने मुख्य जिम्मेवारी पार्टी प्रमुखकै काँधमा रहेको उनको भनाइ छ।
पत्रमा उनले नेतृत्वबीचको हठ वा आपसी टकरावका कारण पार्टीमा कुनै प्रकारको विभाजन वा क्षति भए त्यसको सम्पूर्ण नैतिक तथा राजनीतिक जिम्मेवारी शीर्ष नेतृत्वले लिनुपर्ने स्पष्ट चेतावनी दिएका छन्।
‘यदि नेतृत्वको हठ वा आपसी टकरावका कारण पार्टीमा कुनै पनि किसिमको विभाजन वा क्षति हुन गएमा त्यसको सम्पूर्ण नैतिक र राजनीतिक जिम्मेवारी स्वयम् पार्टी सभापतिको हैसियतले हजुरले र दोस्रो पक्षका पुराना अग्रज नेताहरुले लिनुपर्नेछ’,पत्रमा भनिएको छ, ‘पार्टी फुट्नु भनेको समग्र संगठन सिद्धिनु हो, जसमा हामी आम कार्यकर्ताहरुको कुनै दोष रहने छैन र इतिहासको त्यो कठघरामा जवाफदेही पनि शीर्ष नेतृत्व नै हुनुपर्नेछ।’
पूर्वाग्रह त्यागी पार्टीलाई अक्षुण्ण र एकढिक्का राख्दै अघि बढाउन समयमै ठोस कदम चाल्न उनले नेतृत्वसँग आग्रह गरेका छन्।

