


भैरहवा,६ साउन। सरकारले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानलाई प्रोत्साहन गर्न विभिन्न शुल्कमा छुट दिने निर्णय गरेको छ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले २०८५ साल भदौ मसान्तसम्म यी दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रुपमा छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

यस्तै, सोही अवधिसम्म ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णयसमेत मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
सरकारको यो निर्णयले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न, नयाँ वायुसेवा कम्पनीलाई आकर्षित गर्न तथा दुवै विमानस्थलको व्यावसायिक उपयोग बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

