


काठमाडौं,१३ साउन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पदीय मर्यादा विपरीत कार्यगरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा बुधबार चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको आयोगले जनाएको छ। उनको श्रीमती अर्पना कुमारीलाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ।

आयोगका अनुसार, नियुक्ति मिति २०६५/०९/११ गतेदेखि २०८२/०३/२९ गतेसम्मको अवधिमा चौधरीले २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ आय आर्जन गरेका थिए। उक्त आम्दानीमा तलब,भत्ता,कर्जा,कृषि आय तथा बाबुको पेन्सन आयसमेत समावेश गरिएको छ।
सोही अवधिमा उनले आफू र आफ्नो परिवारको नाममा जग्गा, घर, सवारी साधन, जीवन बिमा, छोराछोरीको खर्च, शेयर खरिद, बैंकिङ मौज्दातलगायत शीर्षकमा ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ खर्च तथा लगानी गरेको आयोगले जनाएको छ।
वैधानिक आम्दानीभन्दा २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ बढी खर्च देखिएको र उक्त रकमको स्रोत पुष्टि हुन नसकेको आयोगको दावी छ। आयोगका अनुसार, सोही रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा चौधरीविरुद्ध आरोप पत्र दायर गरिएको हो। गैरकानुनीरुपमा आर्जन गरेको उक्त सम्पत्ति जफत गर्न आयोगले मागदावी गरेको छ।

