


भैरहवा, २ भदौ।जनता समाजवादी पार्टी नेपाल, लुम्बिनी प्रदेश सभा संसदीय दलले प्रदेश सभा सदस्य अम्बिका काफ्लेसँग स्पष्टीकरण माग गरेको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यको विश्वासको मतको पक्षमा मतदान गर्ने प्रदेशसभा संसदीय दलको निर्णय र ह्वीप विपरीत कार्य गरेको भन्दै संसदीय दलका नेता सन्तोष कुमार पाण्डेयले काफ्लेलाई तीन दिनभित्र लिखित स्पष्टीकरण माग गरेका हुन्।

यता, लुम्बिनी प्रदेश सरकारलाई निर्णय विपरीत मतदान गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशसभा सदस्य एवं संसदीय दलको नेता सन्तोषकुमार पाण्डेयसँग स्पष्टीकरण माग गरिसकेको छ।
लुम्बिनी प्रदेश सांसद पाण्डेयसँग पार्टीले माग्यो स्पष्टीकरण
पार्टीले पाण्डेयसँग स्पष्टीकरण माग गरेकै दिन पाण्डेयले पनि सांसद काफ्लेसँग स्पष्टीकरण माग गरेका हुन्।
पाण्डेयले काफ्लेसँग स्पष्टीकरण माग गरेको पत्रमा भदौ १ गते प्रदेश सभामा भएको मुख्यमन्त्री आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा जसपा नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दलले पक्षमा मतदान गर्ने निर्णय गरेको र सोहीअनुसार ह्वीप जारी गरेको उल्लेख छ।
दलको निर्णय र निर्देशनविपरीत कार्य गरेको भन्दै संसदीय दलले काफ्लेसँग तीनवटा प्रश्नको जवाफ मागेको छ। काफ्ले जसपा नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दलको सदस्य भए नभएको, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दलले जारी गरेको निर्देशन पालना नगर्नुको कारण र दलको निर्देशन पालना गर्नु आफ्नो दायित्व भए नभएकोबारे स्पष्टीकरण मागिएको छ।

