


दाङ,३ भदौ। सरकारी अनुदानमा प्राप्त रासायनिक मल कालोबजारी गरेको आरोपमा दाङमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
घोराहीका सोहनलाल चौधरी , कृष्णबहादुर चौधरी, बङ्गलाचुलीका दिवाकर खत्री र खिमबहादुर घर्तीविरुद्ध कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन अन्तर्गत मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीले उनीहरुलाई गत साउन २८ गते राति घोराही उपमहानगरपालिका–७, सिसहनियामा ट्याक्टरमार्फत डिएपी र युरिया मल बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरेको थियो। उनीहरुको साथबाट ५३ बोरा डिएपी र चार बोरा युरिया बरामद गरिएको थियो।
अनुसन्धानका क्रममा बङ्गलाचुली–५ स्थित सहकारीका लागि १३० बोरा डिएपी र १८० बोरा युरिया खरिद गरिएको खुलेको छ। उक्त मल लक्षित किसानलाई वितरण गर्न कृषि सामग्री कम्पनी लिमिटेडबाट अनुदानमा खरिद गरिए पनि किसानलाई नदिई महँगो मूल्यमा बिक्री गर्न खोजिएको आरोप छ।
जिल्ला सरकारी वकिल कार्यालय दाङले अभियुक्तहरुलाई कानुनबमोजिमको सजाय र बरामद मल जफत गरी किसानलाई उचित मूल्यमा बिक्री वितरण गर्न समेत माग गरिएको छ।

