

दाङ, ११ भदौ। रसुवामा आएको विनाशकारी बाढीपछि रुपन्देही जिल्लाका २५ जनासहित लुम्बिनी प्रदेशका ९७ जना सम्पर्कविहीन रहेका छन्।
लुम्बिनी प्रदेश सरकारका अनुसार, रसुवा क्षेत्रबाट सम्पर्कविहीन भएका नागरिकहरुको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
Advertisement

Advertisement
Advertisement
प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन शाखाका अनुसार, सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै रुपन्देहीका २५ जना रहेका छन्। त्यस्तै दाङका १५, रोल्पाका १४, अर्घाखाँचीका ९, बर्दियाका ८, गुल्मीका ६, नवलपरासी पश्चिमका ६, पाल्पाका ५, प्युठानका ५ र कपिलवस्तुका ४ जना रहेका छन् ।
सम्पर्कविहीन भएकाहरु विभिन्न जलविद्युत आयोजना निर्माण तथा अन्य कामका लागि रसुवा पुगेका थिए। केही सरकारी सेवामा कार्यरत तथा घुम्नका लागि रसुवा पुगेका व्यक्तिहरु पनि सम्पर्कबाहिर रहेको विवरणमा उल्लेख छ।
मन्त्रालयको विपद् व्यवस्थापन शाखाले सम्पर्कमा आएका व्यक्तिको विवरण अद्यावधिक गर्दै जाने जनाएको छ। थप विवरण प्राप्त हुने क्रम जारी रहेकाले सम्पर्कमा आउने व्यक्तिको संख्या बढ्न सक्ने जनाइएको छ। सम्पर्कबिहीन रहेका १०१ जनामध्ये ४ जना सम्पर्कमा आएको प्रदेश सरकारले जनाएको छ।





