


रसुवा, २० भदौ। नेपाल–चीन सीमा नाका टिमुरेस्थित नेपालको राष्ट्रिय झण्डा राखिएको छ।
गोसाइँकुण्ड गाउँपालिका–२ मा रहेको उक्त अन्तर्राष्ट्रिय सीमा नाकामा आज नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले राष्ट्रिय झण्डा राखेको हो।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सीमा नाकाको नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको थियो।
सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) टिमुरेबाट खटिएको संयुक्त टोलीले करिब तीन किलोमिटर जोखिमयुक्त भीरको बाटो पार गर्दै सीमा नाकासम्म पुगेर राष्ट्रिय झण्डा राखेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
बाढीले सीमा क्षेत्रमा रहेका संरचना बगाए पनि नेपालको उपस्थिति र राष्ट्रिय पहिचान झल्काउने उद्देश्यले झण्डा राखिएको हो।

