


भैरहवा,१३ असोज। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले प्रहरी सहायक निरीक्षक (असई) गोमा केसीलाई भदौ महिनाको ‘उत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ द मन्थ)’ घोषणा गरेको छ।
विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक केसीले फिल्ड तथा एक्स–रे अपरेटरको जिम्मेवारीमा रही संगठनको नीति, निर्देशन तथा आफ्नो पदीय दायित्व उत्कृष्ट ढंगबाट सम्पादन गर्दै विमानस्थल सुरक्षामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।

कार्यालयका अनुसार, केसीले आफ्नो जिम्मेवारीप्रति देखाएको लगनशीलता, कर्तव्यनिष्ठा र कार्यसम्पादनका आधारमा उनलाई भदौ महिनाको उत्कृष्ट प्रहरीका रुपमा छनोट गरिएको हो।
सो अवसरमा कार्यालयले प्रहरी सहायक हवल्दार यम थापालाई समेत पुरस्कृत गरेको छ। दुवै जनालाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एंव एसएसपी राकेश सिंहले नगद पुरस्कारसहित सम्मान गरेका हुन्।

विमानस्थलको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आफ्नो जिम्मेवारीमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट प्रहरी घोषणा तथा पुरस्कार प्रदान गरिएको कार्यालयले जनाएको छ।

