
११ पुस, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको नगर सभाको १४ औं अधिवेशन सुरु भएको छ । बुधबार शुरु भएको अधिवेशनको पहिलो बैठकमा नगरप्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पेश गर्दै बुटवललाई सफा, सुन्दर, हरियाली र उज्यालो शहर बनाउनका लागि योजनाहरु अगाडि बढेको बताए ।
प्रमुख पाण्डेयले चालु आर्थिक वर्षमा मोतीपुर र बेलबासमा १५–१५ बेडका अक्सिजन सुविधासहितका दुईवटा अस्पताल सञ्चालनमा ल्याउने, आम्दा अस्पतालको स्तरोन्नति गर्ने र पारा मेडिकल तथा नर्सिङ विषयको कक्षा सञ्चालन हुने बताए । उनले अस्पताल स्थापना र स्तरवृद्धिले स्वास्थ्य उपचारलाई स्तरीय बनाउने र सोही ठाउँमा आवश्यक जनशक्ति उत्पादन गर्दा रोजगारी सिर्जना हुने बताए ।
Advertisement

Advertisement
Advertisement

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाहरूका लागि सबै खालको खर्च निःशुल्क गराउन नगरप्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालनको तयारीमा रहेको बताए । प्रमुख पाण्डेयले नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही २ हजार रुपैयाँका दरले प्रदान गर्ने गरी स्वस्थ शिशु सुत्केरीलाई पोषण कार्यक्रम सञ्चालनमा रहेको बताए ।
बैठकमा प्रमुख पाण्डेयले १८ वर्षमुनीका एचआइभी संक्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक ३ हजार दिने, स्तनपान गराउने आमाहरूका लागि दुग्धवर्धक जडीबुटी दिने, नगरबासीलाई जटिल रोगको उपचारमा जनही १७ हजार रुपैयाँ दिइने राहत अनुदान कार्यक्रम निरन्तर रहेको र थप सुविधा दिने गरी योजना बनाएको बताए । उनले शिक्षा क्षेत्रमा बुटवललाई सधै अग्रणी राख्नका लागि आवश्यकताअनुसार भौतिक पूर्वाधार र नयाँ कोर्षहरु सञ्चालनको तयारी भइरहेको बताए ।
‘शिक्षामा हामीले बुटवलभित्रका सबै सार्वजनिक विद्यालयहरुलाई एउटै स्तरमा पुर्याउने गरी काम गरिरहेका छौं । प्राविधिक शिक्षामा बुटवल टेक्निकल इन्ष्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि काम अघि बढेको छ, बुटवल–१६ मा कृषि विज्ञान (बी.एस.सी.ए.जी.) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ’–उनले भने ।
उनले नगरलाई हरियाली बनाउन मुख्य सडक र भित्री सडक तथा अन्य खुला क्षेत्रमा वृक्षरोपण तथा ४५ दिने सरसफाई अभियान सञ्चालन गरी नगरलाई सफा राख्न बुटवलबासीलाई प्रोत्साहन गरिएको जस्ता उपलब्धिहरु प्रस्तुत गरेका थिए ।
त्यस्तै गृहिणी महिलाहरूलाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन भएको, युवा इलम र महिला उद्यमशीलता कार्यक्रम सञ्चालन भएको बताउँदै नगरप्रमुख पाण्डेयले यसले महिला र युवालाई सीप र रोजगारसँग जोड्ने बताए।
उनले उज्यालो बुटवल कार्यक्रमअन्तर्गत मुख्यमुख्य चोकहरुमा हाइमास्ट लाइट तथा भित्री सडक र गल्लीहरूमा स्मार्ट स्ट्रिट लाइट जडान तथा सौन्दर्यीकरणको काम अगाडि बढेको र यसले रात्रीकालीन बजार सञ्चालनमा समेत सघाउ पुग्ने बताए ।
यस्तै, नगरसभाको अधिवेशनको पहिलो बैठकमा जलश्रोत विधेयक टेबुल गरिएको छ भने नगर स्वास्थ्य ऐन, छाडा चौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला सञ्चालन) विधेयक र नगर शिक्षा ऐन संसोधन प्रस्ताव टेबुल गरिएको छ ।
अधिवेशनको पहिलो बैठकमा विधेयक समितिका संयोजक नरेन्द्र बस्नेतले विधेयक र ऐन संसोधनको प्रस्ताव टेबुल गरेका हुन् । नगर सभाको अर्को बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको छ ।

