
भैरहवा, १२ पुस । सिद्धबाबा सुरुङमार्गको निर्माण कार्यलाई निर्वाध रुपमा अगाडी बढाउन तथा सम्भावित निर्माणजन्य जोखिम हटाउनका लागि रातिको समयमा सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड बन्द गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा बिहिवार बसेको सरोकारवालाहरुको बैठकले सिद्धबाबा सुरुङमार्गको आयोजना कार्यालयको अनुरोध र जिल्ला प्रशासन कार्यालय पाल्पाको निर्णय समेतको आधारमा पुस १६ गते देखि (राति १० बजे देखि बिहान ४ बजेसम्म) एक सय दिनसम्म अत्यवाश्यक सवारी साधन (दमकल, एम्बुलेन्स, शववाहन, विपद्का साधन) बाहेक सवारी साधन बन्द गर्ने निर्णय गरेको हो ।
Advertisement

Advertisement
Advertisement

माघे संक्रान्ति पर्वका लागि पुस २९ र माघ १ गतेका लागि पूर्ववत रुपमा सवारीसाधनको आवगमन भने हुने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहिवार साँझ प्रेस नोट जारी गरी जनाएको छ ।
रातिको समयमा बुटवल- तानसेन खडकखण्ड बन्द भएको अवस्थामा साना सवारी साधनका लागि बैकल्पिक रुपमा नुवाकोट-दोभान सडकखण्डलाई प्रयोगमा ल्याउने निर्णय भएको कार्यालयले जनाएको छ ।
सडकखण्ड बन्द गर्ने एक सय दिनको समयावधिलाई दुई चरण (५०-५० दिन) विभाजन गरी आयोजनाको प्रगति लगायत विश्लेषणको आधारमा दोस्रो चरणको आवगमन बन्द गर्ने निर्णयलाई आवश्यकता अनसार थप परिमार्जन सहित कार्यान्वयन लैजाने कार्यालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
कार्यालयले सडक यात्रु लगायत सरोकारवालाहरुकाे सहजताका लागि आयोजना कार्यालयका ईन्जिनियर सविता ज्ञवालीको सम्पर्क नम्बर ९७४८७९८१११ समेत सार्वजनिक गरेको छ ।

