
टोरण्टो । पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरी नेपाल पठाइएको छ ।
सिद्धार्थनगर नगरपालिका- ८, बुद्धपथ, भैरहवाका २३ वर्षीय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरी नेपाल पठाइएको हो । पढ्न आएका श्रेष्ठले पढाइको अतिरिक्त आफूले सोचेजस्तो काम नपाएपछि डिप्रेसनमा पर्दै गएका थिए ।
Advertisement

Advertisement
Advertisement

करिब १ वर्षअगाडि सफ्टवेयर टेक्नोलोजी विषय पढ्न सेन्टेनियल कलेज, स्कारब्रो, टोरण्टो आएका श्रेष्ठ डिप्रेसनमा पर्दै गएको उनीसँगै कोठामा बस्ने साथी सागर मानन्धरले जानकारी दिए। शुरूवातमा उनको व्यवहार राम्रो भएपनि पछि उनी डिप्रेसनमा पर्दै गएको उनले बताए।
उनले कोठा भाडासमेत तिर्न नसकेर समस्यामा परेको थाहा पाएसँगै एनआरएनए क्यानडाका कार्यसमिति सदस्य कमल ज्ञवालीले आइतबार दिउँसो ४ बजे श्रेष्ठको उद्धार गरेका थिए ।
एनआरएनए क्यानडाका कार्यसमिति सदस्य ज्ञवालीले नेपालमा श्रेष्ठको परिवारलाई सम्पर्क गरी हिजो नेपाल पठाएका थिए । कतार एयरवेज मार्फत उनी आज बुधबार बिहान काठमाडौं पुगेको ज्ञवालीले जानकारी दिए । श्रेष्ठको उद्धार गर्नको लागि क्यानडामा रहेका अजय कार्कीको सहयोग रहेको ज्ञवालीले बताए ।
क्यानडा प्रहरीले श्रेष्ठलाई बेवारिसे अवस्थामा भेटेर सिबिक हस्पिटल, ब्राम्पटन पुर्याएको जानकारी पाए लगत्तै ज्ञवालीले उनको उद्धार गरी नेपाल पठाउन सफल भएको बताए । उनी बुधबार बिहान ९ बजे नेपाल पुगेको र एयरपोर्टबाट उनको परिवारजनले भेटेर जिम्मा लिएको ज्ञवालीले जानकारी दिए ।
क्यानडामा विद्यार्थीले काम पाउन मुस्किल छ- एनआरएनए क्यानडा
‘क्यानाडामा अहिले नेपाली नयाँ विद्यार्थीको अवस्था अत्यन्तै भयाबह छ । तपाईँ हामीले सोचेको भन्दा पनि धेरै’, एनआरएनए क्यानडाका सदस्य कमल ज्ञवालीले भने, ‘कलिला साना साना भाइबहिनीहरु जसले नेपाल हुँदा खानासम्म बनाउन परेन। एउटा ठूलो सपना बोकेर नेपाल छोडी आएका छन्। यहाँ आइसके पछि एकातिर कोठा भाडा, खानाको समस्या, कामको समस्या अर्कोतिर नेपालबाट करिब २५ लाख रुपैयाको ऋणको बोझ। बाबु आमाले बिहानै बेलुकी सोध्ने प्रश्न “काम पाइस् कि नाई”अर्कोतिर, कलेजको फी तिर्नुपर्ने दिन नजिकिँदै गर्दा क्यानडा आएका कतै तपाईँहाम्रा छोराछोरी, भाइबहिनी, भान्जाभान्जी, टाउकोभरि यत्रो समस्या बोकेर हिड्दा मानसिक समस्या मा त छैनन्? उनीहरुलाई खाना खायो कि खाएन, पढाइको कत्तिको प्रेसर छ भन्ने सोध्ने गरौँ, जागिरको तनाव नदिउँ, जागिर पाएपछि गर्छन्, उनीहरुलाई झनै पिर छ आफ्नो भविष्यको,’ ज्ञवालीले भने।
एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलालले विद्यार्थीहरुका लागी क्यानडामा काम पाउन मुस्किल हुँदै गएको बताए । ‘विद्यार्थी श्रेष्ठको समस्याबारे जानकारी हुनासाथ हामीले तत्कालै हाम्रा सदस्य कमल ज्ञवाली मार्फत उद्धारको पहल गरेका हौँ,’ उनले भने, ‘क्यानडामा विद्यार्थीलाई पूरा समय काम गर्ने अनुमति छैन, हप्ताको २० घण्टामात्रै काम गर्न पाउने यहाँको सरकारी नियम छ ।’
‘काम दिने कम्पनी अथवा संस्थाले पनि विद्यार्थीलाई काम दिन असाध्यै गाह्रो मान्छन्, पढाइको अतिरिक्त काम पाउन र गर्न पनि त्यतिकै गाह्रो छ,’ अध्यक्ष दुलालले भने । यहाँको पढाइ सकेपछि भने विद्यार्थीले पढेअनुसार काम पाउन भने सजिलो रहेको एनआरएनए क्यानडाका अध्यक्ष दुलालले बताए ।
–शिशिर सिंखडा, टोरण्टो

