
भैरहवा, ४ माघ ।
नेपाल प्रहरीले करिब डेढ दर्जन जिल्लाका प्रहरी उपरीक्षक (एसपी) को सरुवा तयारी थालेको छ ।
रुपन्देही, पर्सा, चितवन, धादिङ, महोत्तरी, सिरहा, झापा, चितवन, तनहुँ, स्याङजा, बर्दिया लगायत जिल्लाका एसपीको एक वर्ष अवधी पुगिसकेको छ । समान्यतया नेपाल प्रहरीका जिल्ला प्रमुखहरुको एक वर्षमा सुरुवा हुने गर्दछन् । प्रहरी प्रधान कार्यालयले यीनै जिल्लाका प्रमुखहरुको सरुवा तयारी थालेको हो ।
Advertisement

Advertisement
Advertisement

सरुवा तयारी थालेसँगै आर्कषक जिल्लाका इन्चार्ज जानका लागि एसपीहरुको दौडधु्प सुरु भएको छ । प्रहरीमा रुपन्देही, पर्सा, झापा, चितवन लगायतका जिल्ला आर्कषक र महत्वपूर्ण मानिन्छन् । र, यीनै महत्वपूर्ण जिल्लाको इन्चार्जका लागि एसपीहरुको लागिपरेका छन् ।
पर्साको एसपीका लागि कुमोध ढुंगेल र नवराज कार्कीले चर्को लबिङ गरिरहेका छन् । दुवै जनाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालय मार्फत पर्सा जानका लागि अ–आफ्नो दाउमा छन् । ढुंगेलले पर्सा नपाए रुपन्देही आउने पनि उनको आन्तिरक तयारी रहेको बुझिएको छ । जसका लागि उनी हालको अवस्थामा रुपन्देहीका लागि सबैभन्दा मजबुत ‘क्यान्डिडेट’ को रुपमा देखापरेका छन् । तर, उनको पहिलो रोजाई भने पर्सा रहेको बुझिएको छ ।
ढुंगेल डिएसपी हुदाँ रुपन्देहीमा बसिसकेका अधिकृत हुन् । ढुंगेल डिएसपीको रुपमा रुपन्देहीमा हुदाँ अपराधी आतंकित थिए । मनोज पुनको आतंक मच्चाएको बेला पुनले फैलाएको अपराधको जालो निस्तेज पार्नका लागि ‘सेकेण्ड डिएसपी’ को रुपमा रुपन्देहीमा आएका ढुंगेलले नै पुन र उनका साथी सोम आलेको इन्काउन्टर गरेका थिए ।
‘सेकेण्ड डिएसपी’ रुपमा काजमा आएका उनको पछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा नै दरबन्दी रहन पुग्यो । पुनको चन्दा आतंकले पीडित बनेका रुपन्देहीका व्यापारीहरु पुन इन्काउन्टर पछि आफुलाई सुरक्षित र जिल्लाको सुरक्षा व्यवस्था मजुबत रहेको आभास पाएका थिए । साथै विभिन्न अपराधमा संग्लन आरोपमा प्रहरी खोजी सूचीमा रहेका केदार साहनी पनि प्रहरी इन्काउन्टरमा मारिएका थिए ।
ढुंगेलले ‘सेकण्ड अप्सन’ को रुपमा राखेका रुपन्देहीका लागि दयानिधी ज्ञवाली, रंजित सिंह राठौर, रमेश पण्डित, सन्तोष खड्का, चक्रराज जोशी, बसुन्धरा खड्का, गौतम केसी पनि लागिपरेका छन् । पण्डितले आफ्नो ‘भिटो पावर’ प्रयोग गरिरहेका छन् । केही महिना अघि मात्र उनको नुवाकोट इन्चार्जबाट नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा भैरहवा, रुपन्देहीमा सरुवा भएको थियो ।
एसपी बढुवामा एक नम्बरमै परेका गौतम केसीले लुम्बिनी प्रदेशका एक मन्त्री मार्फत रुपन्देहीको इन्चार्ज हान्ने दाउमा रहेको प्रहरी संगठनमा चर्चा छ । मोरङ जिल्लामा बसिसकेका सन्तोष खड्का रुपन्देही नभए काभ्रे जिल्ला जाने दाउमा छन् । अन्य प्रहरी अधिकारीहरु पनि अ–आफ्नो तरिकाले चाहेका जिल्लाका लागि दौडधुप गरिरहेका छन् ।

