
काठमाडौं,२० माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, जालसाजी र ठगीविरुद्धको कारबाहीमा कुनै दबाबमा नपर्ने बताएका छन् ।
प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि शनिबार पोखरा पुगेका श्रेष्ठले निर्दोष व्यक्तिहरु कारबाहीमा नपरुन् भनेर सचेत हुने तर भ्रष्टाचार, जालसाजी ठगी र संगठित अपराधमा संलग्न कसैलाई पनि दबाबका आधारमा नछाड्ने बताएका हुन् ।
Advertisement

Advertisement
Advertisement

‘…देशलाई यथास्थितिमा रहन दिन्नौं भन्ने कुरा सबैले बुझ्दा हुन्छ । सधैं हजुर तपाईहरु लुटिराख्नुस्, हामी सहयोग गरिराख्छौं भन्ने पक्षमा सरकार छैन’, उनले भने, ‘ देश बर्बाद हुदै जाओस्, भ्रष्टाचार पनि बढ्दै जाओस् त्यसको निम्ति हामी पनि सेवा गर्न पाऔं भनेर रातो कार्पेट बिच्छ्याउने पक्षमा छैनौं ।’
उपप्रधानमन्त्री श्रेष्ठले अगाडि भने, ‘एक जना पनि निर्दोषलाई अनावश्यक रुपमा दुःख दिने वा उनीहरुलाई डाम्ने काम गर्ने छैनौं । कोही दोषीलाई कुनै प्रकारको दबाबका आधारमा छाड्ने काम सरकारले गर्दैन ।’
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको तथ्यांकमा नेपाल अझै भ्रष्टाचार हुने देशकै सूचीमा रहेको भन्दै उनले यसो हुनुमा पहुँच भएका, सम्पन्नशाली वर्ग, कुनै न कुनै बेला सत्ता सञ्चालन गरेका नेता र कर्मचारी नै दोषी भएको बताए ।
देशमा एकातिर सुशासन माग गर्ने र अर्कोतिर सुशासन स्थापनाका निम्ति कारबाही गर्दा विरोध हुने गरेको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले असन्तुष्टि जनाए ।
‘…राजनीतिक व्यक्ति कारबाहीमा परे भने राजनीतिक पार्टीका नेताहरु कराउने, चर्को चर्को स्वरले राजनीतिक नेताहरुलाई त गर्नुभएन नि, यो त पूर्वाग्रही भएर गर्यो भन्दिहाल्ने । अनि उद्योग व्यवसायी कोही परे भने उद्योग व्यवसायीका संगठन र तिनले पकडमा लिएका मान्छेहरु चर्को चर्को स्वरले कराइहाल्ने, यत्रो राष्ट्रको अर्थतन्त्रमा योगदान गरेको मान्छेलाई कहाँ त्यसो गर्न हुन्छ र भनेर दबाब दिइहाल्ने । कर्मचारी पर्यो भने कर्मचारी संगठन र अरु अरु पनि कराउने ।’
उनले यस्तो अवस्थामा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न कसलाई कारबाही गर्ने भन्ने प्रश्न गरे । ‘त्यही गरिब, मजदुर, पेटीमा पसल राख्ने मान्छेलाई कारबाही गर भनेको हो ?’ उपप्रधानमन्त्री श्रेष्ठले प्रश्न गरे ।
दोषी जुनसुकै प्रकृति र समुदायको भए पनि कानुनको नजरमा समान छन् भन्ने स्थापित गर्ने उनले बताए । ‘लुट्ने एउटाले, जालसाजी, किर्ते र ठगी गरेर राज्यलाई लुट्ने अनि त्यो लुट्नेहरु कानुन स्थापित गर्दा आतंकित भयो भने… हुनुपर्यो नि, अब लुट्न हुन्न रहेछ भन्ने वातावरण निर्माण गर्नुपरेन ?’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

