


भैरहवा । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन् ।
बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले भने, ‘राजस्वकाे लक्ष्य भेटाउन कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्नुहाेस् ।’

उनले जिम्मेवारीबाट पन्छिन कसैलाई छुट नरहेको भन्दै प्राप्त जिम्मेवारीसँगै राज्यले दिएको तलबभत्ताबाट कर्मचारी सन्तुष्टि हुनुपर्ने बताए ।
उनले भैरहवा भन्सारलाई सशक्त नेतृत्व दिन, अन्य निकायसँग राम्रो समन्वय गर्ने, सुरक्षा निकायसँग निरन्तर समन्वय राखेर चोरी निकासी रोक्ने, छिटो भन्सारलाई सिस्टममा राख्न र जिम्मेवारीलाई उच्च सर्तकताका साथ निरन्तर खबरदारी गर्ने कर्मचारीलाई निर्देशन दिए ।
‘कार्यरत कर्मचारीहरु एक वर्ष नभइ सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन, क्षमतामा प्रश्न उठ्यो भने जुनसुकै बेला पनि सरुवा हुनसक्छ’ मन्त्री डा. महतले भने, ‘यद्यपि कर्मचारीलाई मैले अविश्वास गर्न खोजेको होइन ।’

