

भैरहवा । नेपाल प्रहरी श्रीमती संघ केन्द्रीय कार्यासमितिले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेको छ ।
यस्तै, आश्रममा आश्रित बालबालिकालाई सामूहिक भोजनसमेत गराइएको छ । बिहीबार संघको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको समन्वयमा आश्रममा पुगेर सामूहिक भोजन, शैक्षिक सामाग्री र खाद्यान्न वितरण गरिएको हो ।
Advertisement

Advertisement
Advertisement
संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी पराजुली कुँवर, लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायत, संघका लुम्बिनी प्रदेशका पदाधिकारी तथा सदस्यहरु, रुपन्देही प्रहरी प्रमुख एसपी भरतबहादुर विक लगायतले आश्रममा सहयोग हस्तान्तरण गरेका हुन् ।
संघकी अध्यक्ष कुँवरले आवश्यकताका आधारमा आफूहरुले विभिन्न ठाउँमा सहयोग गर्दै आएको जनाइन् । भोलिका देशका कर्णधार र भविष्य बोकेका अनाथ बालबालिकालाई सहयोग गर्न पाउँदा निकै हर्षित भएको उनले बताइन् । ‘सबैको साथ र सहयोगले मात्रै यस्ता बालबालिकाको भविष्य सुनिश्चित हुन्छ, यसका लागि हामीले हातेमालो गरेर करुणाभाव जागृत गर्नुपर्छ’, उनले भनिन्, ‘आउँदा दिनमा पनि संघले आवश्यक सहयोग गर्दै जानेछ ।’ उनले बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिन समेत आग्रह गरिन् ।
आश्रमका अध्यक्ष कृष्णप्रसाद ज्ञवालीलले विभिन्न संघसंस्थाको सहयोगमा बालबालिकालाई शिक्षादिक्षा, खानपान गराउँदै भविष्यको मार्गदर्शनतर्फ अग्रसर गराउँदै आएको जनाए । उनले कुनैबेला रक्षक नै भक्षक बन्दा आश्रम जटिल अवस्थामा पुगेको बताउँदै अहिले सबै क्षेत्रको सहयोगले व्यवस्थित तरिकाले संचालन गरिरहेको सुनाए । उनले नेपाल प्रहरी श्रीमती संघको सहयोगले आफूहरुमा आश्रमलाई अझै राम्रो बनाउन प्रेरणा मिलेको र स–साना बालबालिकाको बनोबल उच्च भएको बताए ।
अहिले आश्रममा १९ जना बालबालिका आश्रित छन् । ती सबै बालबालिकालाई संघले शैक्षिक सामाग्री वितरण गरेको छ । साथै संघले आश्रमलाई चामल, खाने तेल लगायतका खाद्यान्न सामाग्री प्रदान गरेको छ । आश्रमका अध्यक्ष ज्ञवालीका अनुसार दुईवटा भवन राखेर बालबालिकालाई पालनपोषण गरिँदै आएको छ । अहिलेसम्म आश्रममा आश्रित ५८ जना बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ ।





