
भैरहवा : रुपन्देहीमा ९ महिनादेखि १५ वर्षमुनीका ३ लाख १४ हजार ७ सय ३८ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार फागुन १३ देखि १७ सम्म ९ वटा पालिका तथा फागुन २० देखि २४ गतेसम्म ७ पालिकामा गरी दुई चरणमा बालबालिकालाई खोप लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले पहिलो चरणमा बुटवल उपमहानगरपालिका, देवदह, तिलोत्तमा, लुम्बिनी साँस्कृतिक, सिद्धार्थनगर नगरपालिका, ओमसतिया, रोहिणी, सियारी र शुद्धोधन गाउँपालिकामा दादुरा–रुबेला विरुद्धको खोप लगाइने बताए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

त्यस्तै दोस्रो चरणमा सैनामैना नगरपालिका, गैडहवा, कञ्चन, सम्मरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गाउँपालिकामा खोप लगाइने उनले जानकारी दिए ।
‘जिल्लाका ९ वटा पालिकामा फागुन १३ गते अभियान सुरु गर्ने योजना बनाएका छौं’, प्रमुख ढकालले भने, ‘यसका लागि स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गर्ने काम भइसकेको छ ।’
नियमित खोप कार्यक्रममा छुट भएका बालबालिकालाई लक्षित गरी दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । ढकालका अनुसार दादुरा–रुबेला विरुद्धको खोपबाहेक अन्य खोप पनि नलगाएका बालबालिकालाई सोही अवधिमा लगाइनेछ ।
जिल्लाका १६ स्थानीय तहमा १ हजार १ सय ११ खोप केन्द्रबाट खोप लगाइने ढकालले बताए । उनले यो अभियानमा २ हजार २ सय स्वास्थ्यकर्मी र ३ हजार ३ सय जना स्वयंसेवक खटिने जानकारी दिए ।
जिल्लामा ३४ हजार ९ सय ३६ भायल एमआर भ्याक्सिन र ३ लाख ९१ हजार ५ सय ४ वटा सिरिञ्ज आवश्यक पर्ने उनले बताए ।
खोप अभियान पूर्ण सफल बनाउन विभिन्न माध्यमबाट प्रचारप्रसार सुरु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत तथा सूचना अधिकारी भेषराज शर्माले बताए । कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीले यो अभियान विद्यालय केन्द्रीत हुने जानकारी दिए ।
नेपालले सन् २०२६ सम्ममा दादुरा–रुबेला निवारण गर्ने लक्ष्य लिएको छ ।

