


भैरहवा : रुपन्देहीको सियारी गाउँपालिकाले फिजियोथेरापी शुरु गरेको छ । पालिकाले स्थानिय नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्धेश्यले फिजियोथेरापी शुरु गरेको हो ।
सियारी गाउँपालिकाले शुरु गरेको फिजियोथेरापी सेवा लुम्बिनी प्रदेशका पालिकाहरुमा पहिलो भएको दावी गरेको छ । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले फिजियोथेरापी सेवाका लागि भैरहवा तथा बुटवल लगाएतका शहरमा पुग्नु पर्ने बाध्यतालाई हटाउन सियारीमा सेवा शुरु गरिएको बताए ।

अध्यक्ष घिमिरेले भने, एक जना फिजियो थेरापी गर्न जाँदा बुटवल तथा भैरहवाको भाडा, थेरापि गरे बापतको शुल्क लगाएत तिर्दा एक भन्दा बढी हुन्छ, समयको पनि बचत हदैन्, यी सबै कुराबाट नागरिकलाई सुबिधा दिनका लागि पालिकाबाटै फिजियो थेरापी शुरु गरेका हौ ।
उनका अनुसार सियारीले फिजियोथेरापि गरेबाट बढीमा १ सय ५० देखि दुईसय सम्म हुन सक्ने गरी शुल्क तय गर्न लागिएको छ ।
पालिकाले सियारी ४ छपिया बजार स्थित नेपाल रेडक्रसको भवनबाट सेवा सुरु गरेको हो । गाउँपालिका अध्यक्ष घिमिरेले सियारीवासीलाई स्वास्थ्य क्षेत्रमा आवश्यक अन्य सेवा पनि निरन्तर रुपमा प्रदान गर्दै जाने बताए ।
आधुनिक मेशिनसहित फिजियोथेरापी सेवा विस्तार भएसँगै सियारी सहित मायादेवी, शुद्धोेधन गाउँपालिकाका नागरिकले लाभ लिन पाउने पालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहाुर घर्तिले जानकारी दिए ।
प्यारालाइसिस, नसा, ढाड र खुट्टाको समस्याका साथै बाथ लगायत रोगका बिरामीले सियारीमा सुरु गरिएको थेरापीबाट सेवा लिन सक्ने पालिकाका प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीले जानकारी दिए ।
पालिका भित्रै थेरापी सुरु भएपछि निकै सहज भएको स्थानिय सेवाग्रहीले उल्लेख गरेका छन् । सियारी ४ का बुद्धिप्रसाद पोखरेल तथा सावित्रि पोखरेलले गाउँमै सेवाआएपछि आफुहरुलाई निकै सहज भएको बताए ।
बुढेशकालमा धेरै टाढा पुगेर उपचार गर्दा आर्थिक समस्याका साथै समय पनि खर्च हुने गरेको थियो गाउँमा आएपछि निकै सहज भएको छ, स्थानिय बुद्धिप्रसाद पोखरेलले जनाएका छन् । फिजियोथेरापी गर्नका लागि कहिले बुटवल त कहिले भैरहवा जानु पर्ने थियो, गाउँमै सेवा आएपछि निकै सजिलो भएको छ, यसबाट हामी जति अरु को होला र ? उनले भने ।
गाउँपालिकाले थेरापी सेवा लिनका लागि अत्यन्तै न्युन शुल्क तय गर्ने जनाएको छ । सियारीले जेयष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुको सहजताका लागि घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ भने बिरामीहरुलाई निशुल्क रुपमा रगतको व्यवस्थापन समेत गर्दै आएको छ ।

