
भैरहवा : लुम्बिनी विकास कोषले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको बाहिरी क्षेत्रको सुरक्षाको व्यवसापन सशस्त्र प्रहरी बल, नेपाललाई दिन माग गरेको छ ।
आइतबार कोषको पदाधिकारीहरुले लुम्बिनी आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठसगँको भेटमा लुम्बिनी गुरुयोजना बाहिर क्षेत्रको सुरक्षाको व्यवस्थापन सशस्त्रलाई दिन माग गरेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

भेटघाटमा कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी गुरुयोजना क्षेत्र बाहिरको सुरक्षा सशस्त्र प्रहरीमार्फत व्यवस्थापन गर्न माग गरे । यसअघि कोषको बैठकले सशस्त्र प्रहरीको स्थायी बेस क्याम्प स्थापनाको निर्णय गरी गृहमन्त्रालयमा फाइल पठाएको बताउँदै उनले यसबारे थप पहलका लागि ध्यानाकर्षण गराए ।
गृहमन्त्री श्रेष्ठले सशस्त्रको स्थायी बेस क्याम्प स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले विकास कोषको कामका सन्दर्भमा यसको व्यवस्थापन र विकासका लागि सम्बन्धित मन्त्रालयमा थप पहल गर्ने बताए ।
छलफलमा उपाध्यक्ष डा. लामाले गुरुयोजना कार्यान्वयन, बृहत्तर लुम्बिनी क्षेत्रको विकासका सन्दर्भमा सङ्घीय सरकारबाट सहयोगको अपेक्षा राखेको बताए । छलफलमा कोषाध्यक्ष ढुण्डिराज भट्टराईले आन्तरिक आम्दानीबाट खर्च गरिँदै आएको बताउँदै बजेटमा प्राथमिकता दिन आग्रह गरे ।
कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनी विकास क्षेत्र संवेदनशील भएकाले यहाँको सुरक्षा संयन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले लुम्बिनी बाहिरको सुरक्षा सशस्त्र प्रहरीले गर्नुपर्ने भन्दै अहिले अस्थायी क्याम्प भएकाले यसलाई स्थायी बनाउन अनुरोध गरे ।

