
भैरहवा : केन्द्रमा नेपाली काँग्रेस नेकपा माओवादी केन्द्रको गठबन्धन भत्किएर नेकपा एमाले नेकपा माओवादी केन्द्र लगायतको गठबन्धन बने सँगै लुम्बिनी प्रदेशमा पनि नयाँ गठबन्धनका लागि कसरत सुरु भएको छ ।
केन्द्रमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) को संयुक्त गठबन्धनको सरकार बनेको छ । जसमध्ये रास्वपाको लुम्बिनी प्रदेशसभामा उपस्थिती छैन ।
Advertisement

Advertisement
Advertisement

लुम्बिनीमा कुल ८७ जना प्रदेश सांसद छन् । लुम्बिनीमा नयाँ गठबन्धन बनाउनका लागि ४४ सांसदको समर्थन आवश्यक हुन्छ । तर, केन्द्रमा सत्ता समिकरण अनुसार लुम्बिनी नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका ११ र जसपाको तीन सांसद मात्र छन् । यी तीन दलको सांसद संख्या जोड गर्दा ४३ मात्र हुन पुग्छ । केन्द्रमा भएको सत्ता समिकरण अनुसार लुम्बिनीमा बहुमतका लागि एक सांसदको मत अपुग देखिएको छ । जसका लागि एक वा बढी साना दलको समर्थन वा एक स्वतन्त्र सांसदको समर्थन आवश्यक देखिएको छ ।
साना दलमध्ये नागरिक उन्मुक्ति पार्टीका चार , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार (एक जना निलम्बित), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तीन, जनमत पार्टीका तीन, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक–एक जना सांसद छन् । नयाँँ गठबन्धनको सरकारलाई यीनै दलमध्ये वा स्वतन्त्र सांसदको समर्थन आवश्यक पर्छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी नेतृत्वको सरकारमा अधिकांश दल सहभागी छन् । तर, अब नयाँ गठबन्धनको सरकारलाई बहुमतका लागि कति दलले समर्थन दिने विषयमा अगामी दिनहरुमा हुने राजनितिक उतार चढावले देखिने नै छ ।
नयाँ गठबन्धनको सरकारमा काँग्रेस बाहेक सबै दलको समर्थन रहेने नेकपा एमाले लुम्बिनी प्रदेशको दावी छ ।

