


भैरहवा, १९ चैत । रुपन्देहीको रोहिणी गाउँपालिकामा फेला परेका कुपोषित बालबालिकालाई पोषिलो आहार वितरण गरिएको छ । पालिकाको ३२ स्थानमा स्क्रिनिङ क्याम्प मार्फत २ हजार ४ सय ४२ जना बालबालिकाहरु स्वास्थ्य परिक्षण गरिएको थियो । जसमध्ये १० जना बालबालिकाहरुमा कडा खालका कुपोषण पाइएको सामाजिक विकास परिचालक सन्तोष पन्थीले जानकारी दिए ।
विगत दुई महिनादेखि सञ्चालित कार्यक्रम अन्र्तगत मध्यम कुपोषित बालबालिका र सिघ्र कडा खालका कुपोषित बालबालिकालाई नाप जाँच गराएर बालबालिकाको अवस्था अनुसार पोषिलो आहार वितरण गरिएको उनले बताए । सेतो गुराँस बाल विकास सेवा रुपन्देहीकी कार्यक्रम संयोजक मिनु पुनले कुपोषणको अवस्था नाजुक भएका रुपन्देही जिल्लाका मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी, रोहिणी र गैडहवा गाउँपालिका ‘पोषणमार्फत जीवन रुपान्तरण’ कार्यक्रम सञ्चालन भएको बताइन् ।

सेतो गुराँस बालविकासद्वारा सञ्चालन भएको छ । जसलाई हेलन केलर इन्टरनेशनलले सहयोग गरिरहेको छ । पुनले भनिन्, ‘पालिका तहमा सरोकारवालासँग बैठक बसेर पोषणमार्फत जीवन रुपान्तरण गर्ने भनेर ६ वटा गाउँपालिका २ सय ५२ ठाउँमा स्क्रिनिङ क्याम्प गर्यौं । पाखुराको मध्यभागमा मार्क गरी त्यो बालबालिका हरियोमा छ भने एकदमै राम्रो छ पहेलोमा छ भने मध्यम शिघ्र कुपोषणको अवस्था छ । रातोमा छ भने कडा शिघ्र कुपोषणमा छ भन्ने हुन्छ ।’
रुपन्देहीको ६ वटा गाउँपालिका २ सय ५२ स्थानमा चेकजाँच गरिएको र १९३ स्थानमा छुटेका बालबालिकालाई घरमै गएर नापजाँच गर्ने पुनले बताइन ।रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बालबालिकालाई पहिचान गरी कुपोषित बालबालिकालाई सहयोग गर्नु धेरै राम्रो भएको बताए । गाउँमा अझै पनि कुपोषित बालबालिका छन् भन्न डराउन नहुने उनले बताए । स्वास्थ्यका लागि सबैले ख्याल गर्नुपर्ने बताउँदै अध्यक्ष यादवले समाज उत्थानको लागि धेरै राम्रो कार्यक्रम भएको बताए ।
सेतो गुराँस बाल विकास सेवाकी कार्यकारी निर्देशक सुमित्रा शर्माले कुपोषणको जोखिमबाट मुक्त गर्नका लागि कार्यक्रम आएको बताउँदै बेल्जीयमबाट आएको पोषण बजारमा किन्न समेत पाउन नसकिने हुँदा अन्य कसैले प्रयोग नगर्नका लागि उनले आग्रह गरिन् । कार्यक्रममा बालबालिकालाई खुवाउने तरिकाका बारेमा तथ्यांक अधिकृत जितेन्द्र कोहारले बताएका थिए । रोहिणी गाउँपालिका वडा नम्बर २ स्थित पोखरभिण्डी स्वास्थ्य चौकीका प्रमुख तारा प्रसाद गैरेको सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो ।

