
भैरहवा, २२ चैत । उद्योगी–व्यवसायीले रुपन्देही र चिवतन लगानी र पर्यटनका हिसावले मुलुककै अग्रणी जिल्ला भएको बताएका छन् । उनीहरुले लुम्बिनी र सौराहा त पर्यटनका लागि सम्भावनै सम्भाना बोकेको क्षेत्र भएको जनाए । यी दुबै ठाउँलाई जोडेर पर्यटकीय विकास गरे दुबै जिल्लाले आर्थिक रुपमा अझै फड्को मार्ने दावी व्यवसायीको छ ।
सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देही र उद्योग बाणिज्य संघ, चितवन तथा सिद्धार्थ र रत्ननगर उद्योग बाणिज्य संघ, चितवनबीच भएको छुट्टाछुट्टै छलफल एवं अन्तक्र्रियामा बोल्दै व्यवसायीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग र व्यापार सबै क्षेत्रमा सरकारबाट आवश्यक सहयोग भए दुई जिल्लाले मुलुककै नेतृत्व गर्न सक्ने दावी गरे ।
Advertisement

Advertisement
Advertisement

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले रुपन्देहीमा पछिल्लो दशकमा लुम्बिनीलाई केन्द्रमा राखेर लगानी भइरहेको जनाउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा संचालन हुँदा मुलुकले नै आर्थिक क्षेत्रमा थप फड्को मार्न सक्ने जनाए । ‘विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रबाट अर्बौं लगानी भएको छ, सरकारले विमानस्थल मात्रै पूर्ण क्षमतामा चलाउने हो भने लगानीको अझै ओइरो नै लाग्छ’, उनले भने, ‘विडम्बना तर सरकारले हाम्रा कुराको सुनुवाई नै गरेको छैन ।’ उनले बौद्धिष्ट मुलुकका पर्यटक सिधै लुम्बिनी आउन चाहने तर विमानस्थल नचल्दा उनीहरुको गन्तव्य चाहे जसरी लुम्बिनी हुन नसकेको जनाए ।
विमानस्थल मात्रै पूर्ण क्षमतामा चल्ने हो भने सबैभन्दा बढी पर्यटक रुपन्देही र चितवन आउने उनको दावी छ । यी दुबै जिल्ला पर्यटकका लागि उत्कृष्ट गन्तव्य रहेको उनले सुनाए । यस्तै अध्यक्ष श्रेष्ठले लुम्बिनी आउने पर्यटकलाई चितवन र चितवनमा आउने पर्यटकलाई लुम्बिनीसहित प्रदेशका अन्य पर्यटकीय स्थलमा पुग्ने वातावरण सिर्जना गर्न दुबैं जिल्लाका उद्योग बाणिज्य संघले विशेष पहल कदमी गर्नुपर्नेमा जोड दिए । बुटवल–नारायणगढ सडक बनेमा यस्तो वातावरण सिर्जना हुन सक्ने उनले बताए ।
चितवनका उद्योगी व्यवसायीलाई भैरहवा, लुम्बिनी, तिलोत्तमा, बुटवल लगायतका ठाउँमा लगानी गर्न आह्वान गरे । ‘उद्योग, व्यापार, पर्यटन, कृषि जुनसुकै क्षेत्रमा लगानी गरे पनि रुपन्देहीमा गरेको लगानी खेर जाँदैन’, उनले भने, ‘त्यसैले चितवनका उद्योगी व्यवसायीलाई मैले रुपन्देहीमा लगानी गर्न आह्वान गर्छु, हामी पनि उताका व्यापारीलाई यता लगानीका लागि प्रोत्साहन गर्छौं ।’ उनले पछिल्लो समय बीमा कम्पनीको मनपरीले आफूहरु मर्कामा परेको उल्लेख गर्दै एक ढिक्का भएर बृद्धि भएको प्रिमियम घटाउनतर्फ लाग्नुपर्नेमा जोड दिए । सिद्धार्थ उद्योग बाणिज्य संघले नयाँ उद्यम गर्न चाहने र उद्योग व्यापारमा लागेका व्यवसायीलाई निरन्तर सहयोग गर्दै आएको उनले जनाए ।
उद्योग बाणिज्य संघ, चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले तराई–पहाडको संगम भएको जिल्ला भएकाले यहाँ हरेक क्षेत्रमा सम्भावना भएको उल्लेख गरे । ‘पहाडको डाँडामा होटल खोल्दा उस्तै चल्छ, समथर भूभागमा कृषि क्षेत्रमा लगानी गर्दा उस्तै मुनाफा हुन्छ’, उनले भने, ‘चितवन लगानीका लागि सबै हिसावले उत्कृष्ट छ ।’ उनले पछिल्लो पटक भरतपुर महानगरपालिकाले ‘घुमौं भरतपुर’ भनेर पर्यटन वर्ष मनाइरहेकाले रुपन्देहीसहित मुलुकभरका नागरिकलाई चितवन आउन आग्रह गरे । ‘यहाँ आएर नारायणीमा डुंगा सयर गर्न सकिन्छ भने सौराहा पुगेर जंगल सफारी गर्न सकिन्छ’, उनले भने, ‘यस्ता दर्जनौं गन्तव्य चिवतनमा छन्, पर्यटक यहाँ आएर हप्ता दिनसम्म पनि रमाउने वातावरण छ ।’
उनले चितवन शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्योग ब्यापारमा सम्भावना बोकेको जिल्ला रहेको उल्लेख गरे । ‘पोल्ट्रीको त राजधानी नै हो, केरा खेती उस्तै हुन्छ’, उनले भने, ‘त्यसैले रुपन्देहीसहित मुलुकका सबै लगानीकर्ताले यहाँ गरेको लगानी खेर जाँदैन । उनले पनि भैरहवा–लुम्बिनी–बुटवल आउने पर्यटकलाई चितवन र चितवन आउने पर्यटकलाई लुम्बिनी भ्रमणका लागि प्रोत्साहनसहितका प्याकेज कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य भीष्मप्रसाद न्यौपानेले सरकारको नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुने हो भने चितवन र लुम्बिनी क्षेत्रमा लगानी अझै बृद्धि हुने बताए । ‘लगानीका लागि मुलुकमै यी जिल्ला अग्रभागमा आउँछन्’, उनले भने, ‘सरकारले त्यो किसिमको वातावरण गराउन सक्नुपर्छ, उद्योगी–व्यवसायी मैले गरेको लगानी खेर जाँदैन भनेर ढुक्क हुन सक्नुपर्छ ।’

