
काठमाडौं, २५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराई र उनकी आमाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले इन्जिनियर भट्टराई र उनकी आमा जनक नन्दनी भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
इन्जिनियर भट्टराईले भ्रष्टाचार गरी भक्तपुर साविक गुण्डु गा.वि.स. वडा नं. ३ स्थित कित्ता नम्बर १३७४ को २ रोपनी ९ आना एक दाम र कित्ता नम्बर १३७५ को २ आना एक पैसा जग्गा आफ्नो नाममा दर्ता गराएको आरोप छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले जग्गा खरिद गर्नका लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुस माग गरी ठेक्का ती प्रोप्राइटरको बैंक खाताबाट जग्गा विक्रेताको बैंक खातामा ४० लाख र जग्गा खोजिदिने व्यक्तिको खातामा ४० लाख गरी ८० लाख रुपैयाँ पठाइदिएको खुलेको थियो। पछि जग्गा खोजिदिने व्यक्तिले समेत जग्गा धनीको बैंक खातामा ३८ लाख ७ हजार २ सय रुपैयाँ पठाइदिएको खुलेको थियो ।
त्यसैले सरोज भट्टराईलाई ८० लाख विगो कायम गरी कैद सजाय, बिगो बमोजिम जरिवाना र जग्गा जफतको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनकी आमा जनक नन्दनी भट्टराईलाई पनि सरोज भट्टराईलाई हुने सजाय सरह नै मागदावी गरिएको अख्तियारले जनाएको छ ।

