
भैरहवा, २९ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) को कार्यालयले बजार क्षेत्रको देवकोटा चोक ‘अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन’ (एएनपीआर) प्रणाली जडान गरेको छ
।
सिद्धार्थ राजमार्ग सडकखण्ड अन्र्तगत देवकोटा चोक हुदै आवतजावत गर्ने सवारीसाधन सहित सडकमा हुने क्रियाकलापहरु प्रविधीको माध्यमले निगरानी गर्ने उद्देश्यले एएनपीआर प्रणाली जडान गरिएको सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले बताए । ‘नगरमा विकासका साथै नगरवासीको सुरक्षाप्रति हामी सचेत छौँ’ उनले भने, ‘जसका लागि यो प्रणाली जडान गरिसकेका छौँ भने नगरको विभिन्न स्थानमा थप सिसिटिभी क्यामेराहरु समेत जडान गर्न लागेका छौँ ।’
नगरलाई प्रविधिमैत्री बनाउने लक्ष्य अनुरुप नगरपालिकाको कार्यालय विभिन्न कार्यहरु गर्दै आएको छ । जडान गरिएको प्रणालीले क्यामेराको माध्यमबाट सवारीसाधनको नम्बर प्लेट पहिचान गर्नुका साथै आवातजावत हुने सवारीसाधनको रंग, फोटो र भिडियो तथ्यांकको रुपमा सर्भरमा सेभ गर्ने गर्दछ । यसले प्रणाली जडान गरिएको सडकबाट आवतजावत गर्ने सवारीसाधनको पहिचान गर्न सहज हुनेछ । प्रणाली जडानले सडकमा घटेको कुनै घटनाको अनुसन्धान गर्न थप सहज हुने विश्वास लिइएको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले बताइन् ।
Advertisement

Advertisement
Advertisement

‘सिद्धार्थनगर बजार क्षेत्र भएकोले यहाँ हुने सक्ने घटनालाई मध्यनजर गर्दै सवारी लगायत दुर्घटना न्यूनीकरण गर्न र शान्ति सुरक्षाको दृष्टिकोणले पनि यो प्रणाली महत्वपूर्ण छ,’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले भने, ‘त्यसैले हामीले यो प्रणाली जडान गरेका हौँ ।’ जडान गरिएको प्रणालीको कन्ट्रोलिङ जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गर्नेछ ।

