
भैरहवा, ३० जेठ । भैरहवामा गर्मी अत्याधिक बढेको छ । दिउँसो सडकमा मानिसको हिडडुल पातलिएको छ । अस्पतालमा विरामीको चाप उस्तै बढेको छ । जनजीवन अस्तव्यस्त बनेको छ । गर्मी बढेसगैँ खरबुजा, काँक्रा, उखुको रस, लस्सी लगायतका पेयपदार्थहरुको व्यापार फस्टाएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवारको बिहान करिब ९ बजे मापन गरिएको भैरहवाको अधिकतम तापक्रम ३९ दशमलव ५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । नेपालमा मनसुन प्रणाली भित्रिएपनि पश्चिमी तराईमा सक्रिय हुन अझै केही समय लाग्ने बताइएको छ । आगामी केही दिनसम्म देशको मध्य तथा पश्चिमी तराईमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी र सर्तकर्ता अपनाउनका लागि महाशाखाले अनुरोध समेत गरेको छ ।
Advertisement

Advertisement
Advertisement


दैनिक मजदुरी गरेर खानेहरुका लागि गर्मीयाम कष्टकर बन्न पुगेको छ । प्राय युवा युवतीहरु गर्मी छल्नका लागि विभिन्न पार्क, स्विमिङ्ग पुल, हरियाली स्थानहरुमा पुग्ने गरेका छन् । गर्मी बढ्दै गएसँगै अस्पताल तथा निजी क्लिनिकहरुमा बालबालिका लगायत अन्य उमेर समूहका बिरामीहरुको चाप बढेको छ । अन्य मौसमको तुलनामा गर्मी मौसममा बिरामीको संख्यामा बृद्धि भएको विभिन्न अस्पतालहरुले जनाएका छन् ।
गर्मी मौसम सँगै हावाहुरी र धुलो, सडक पेटी तथा फुटपाथको खाजा नास्ता बढ्दो प्रयोग र फोहोर पानीका कारण विरामीहरुको संख्या बढेको भीम अस्पताल भैरहवाका चिक्तिसक डा. आरिफ हुसैनले बताए । गर्मीका कारण अस्पतालमा झाडापखाला, डिहाईड्रेसन, हिट स्ट्रोक लगायतका विरामीको संख्या बढेको उनको भनाई छ । उनका अनुसार फुटफाथको खाजा नास्ता नखाने, पानी उमालेर अथवा फिल्टर गरेर नियमित पिउने, दही, दाल जस्ता झोलिलो पदार्थ खाने, चिल्लो, मैदाले बनाएको खाना नखाने बानीको बिकास गरेर बिरामी हुनबाट जोगिन सकिने छ ।





