


भैरहवा, ३ असार । काठमाण्डौँबाट ६ किलो सुन र ४८ लाख रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले आइतबार साँझ काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध तीनचुलीमा डेरा गरी बस्ने शेरब ग्याल्मो भनिने सोनाम गुरुङलाई सुन र नगद सहित पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङले आफु चिनियाँ नागरिक रहेको बताएका छन् । तर, उनको साथबाट एक थान नेपाली नागरिकताको प्रमाण पत्र फेला भएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए । उनका अनुसार पक्राउ परेका गुरुङको डेरामा खानतलासी गर्दा ९९९.९ किलो लेखिएको ६ थान सुनको विस्कुट, नगद र तीन थान मोबाइल बरामद भएको हो । बरामद सुनको तौल र परीक्षण गर्न बाँकी रहेको उनले बताए । बरामद सुन, रकम र पक्राउ परेको गुरुङको विषयमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

सीआईबीले भेपमार्फत तस्करी भएको ९ किलो सुन र राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुनको अनुसन्धान गरिरहेकमा छन् । सो क्रममा घटनामा संग्लन आरोपमा अहिलेसम्म २० जना पक्राउ परेका छन् ।

