
भैरहवा, ११ असार । रुपन्देहीको मर्चवार क्षेत्रमा बहुउद्देशीय सडक निर्माण हुदाँ स्थानीयहरु उत्साहित भएका छन् । ग्रामीण विकासको लक्ष्यमा अगाडी बढ्दै कोटहीमाई गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा चार वटा वडा ३, ४, ५, र ७ लाई जोडेर नाला सहित चार किलोमिटर सडक बनाएपछि स्थानीयहरु उत्साहित भएका हुन् । चार वटा वडालाई जोडेर खेती क्षेत्रमा रहेको कुलो किनारबाट नयाँ सडक बनाइएको हो । यस योजनाले गाउँपालिकाको दीर्घकालिन विकास रणनीति र मुहार फेर्नमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।
निर्माण भएको सडकले पालिकाको दोस्रो मुख्य बजार परसहवासँग वडा नं. ४ कावासीहरुलाई सीधा रुपमा जोडेको छ । जसकारण स्थानीयहरुको परसहवा बजारसम्मको पहुँचलाई सहज बनाएको छ । ‘गाउँपालिकाले नाला सहितको सडक निर्माण गरिदिएपछि हामीलाई अस्पताल, विद्यालय, बजार लगायत स्थानमा जान धेरै सहज भएको छ’ कोटहीमाई–४ का स्थानीय रामबचन यादवले भने,‘अब हिउँद र वर्षायाममा पनि यात्रा गर्न सहज हुने र खेतहरु पनि डुबान पर्नबाट जोगिने छ ।’
Advertisement

Advertisement
Advertisement

नाला निर्माणले वडा नम्बर ३, ४, ५ र ७ का करिब एक हजार हेक्टर खेती डुबान हुन समस्यालाई कटफोरवा नालाको सफाईले समाधान हुने विश्वास लिइएको छ । नालामा पानी भण्डारण गर्न सक्ने गरी बनाइएको किसानहरुलाई खेतमा सिचाईँका लागि पनि सहजता हुने गाउँपालिकाका इन्जिनियर नवराज भण्डारीले बताए । कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडले कोटहीमाई गाउँपालिका पूर्ण रुपले कृषिमै आधारित पालिका रहेकोले कृषि क्षेत्रमा प्राथमिकता दिइएको बताए । उनले भने–‘किसानको खेत सम्म कृषियन्त्र र किसानले उत्पादन गरेको सामान बजार सम्म पुग्न सके मात्र कृषि क्षेत्रको विकास हुने छ । सोही उद्देश्यले यो सडक र कुलोको निर्माण गरिएको हो ।’
कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण तिवारीले बहुउद्देशीय सडकको निर्माणले पालिकावासीहरुको जीवनस्तरमा व्यापक सुधार ल्याउने अपेक्षा गरिएको बताए । ‘हामीले सो सडक निर्माणसँगै कृषि, व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत सुधार ल्याउने लक्ष्य लिएका छौं’ उनले भने, ‘गाउँको विकासका लागि सिचाई र यातायातको सुविधा महत्वपूर्ण रहेको र यस सडकले ग्रामीण इलाकाका वासीहरुको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौँ ।’

सडकको मुख्य विशेषता यसको बहुउद्देशीय उपयोग हो । त्यहाँ एकतर्फ नाला, अर्कोतर्फ सडक बनाइएको छ । आगामी दिनमा सडकलाई ग्राभेल र तरपोलको व्यवस्थापन गरि नालाको अर्कोतर्फ पनि सडकको निर्माण गरिने अध्यक्ष त्रिपाठीले जानकारी दिए । निर्माणकार्यका क्रममा हरियाली संरक्षण तथा माटोको कटान नियन्त्रणमा विशेष ध्यान दिइएकोले ग्रामीण क्षेत्रको पर्यावरणीय सन्तुलनलाई कायम राख्न मद्दत पुगेको गाउँपालिकाले जनाएको छ ।

