


भैरहवा, १७ असार । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन थप सक्रिय हुने सम्भावना रहेकोले सर्तकता अपनाउनका लागि अनुरोध छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै भारी वर्षाका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ । त्यस्तै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका २६ जिल्लालाई मध्यम जोखिमको पूर्वानुमान गर्दै ‘डार्क यल्लो अलर्ट’ को सूचीमा राखेको छ । यस्तै बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिमका १७ जिल्लामा निम्न जोखिमको सम्भावना रहेको जनाएको छ ।
कोशी प्रदेशको ‘रेड अलर्ट’ मा ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा जिल्ला परेका छन् । बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा रहेका छन् भने गण्डकी प्रदेशको म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र लमजुङ जिल्ला रहेका छन् । त्यस्तै लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व जिल्लालाई ‘रेड अलर्ट’ को सूचीमा राखिएको छ ।

हेर्नुस कुन जिल्ला कति जोखिममा ?

विगत केही दिनदेखि मनसुन न्यून चापीय रेखाका कारण मनसुन सक्रिय हुन थालेको र केही दिन नेपालको दक्षिण भूभाग सिमाना आसपास रहने भन्दै महाशाखाले असार २० गतेसम्म सतर्कता अपनाउनका लागि विशेष बुलेटिन जारी गरी अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका असार १७ गते देखि असार २० गतेसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा अधिक भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
असार १७ गतेदेखि २० गतेसम्म भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम, शहरी तथा तराई क्षेत्रहरुमा डुबानको जोखिम, ठूला तथा साना नदीनाला एवं खोलाहरुमा पानीको सतह बढ्ने सम्भावना, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावितको सम्भवाना रहेको बताइएको छ ।

