
सलमान खान
भैरहवा, २७ असार । धनुषा जनकपुरधाम–१७ कनकपट्टीका रामआशिष यादव परिवारमा तीन जना छोरी र श्रीमती छन् । जेठी आरतीकुमारी यादव १८ वर्ष, माईली पूजाकुमारी यादव १५ वर्ष र कान्छि छोरी सञ्जुकुमारी १० वर्षको भइन् । जेठी आरतीलाई मात्र बुवा रामआशिषको अलि–अलि सम्झना छ । बुवा वैदेशिक रोजगारीका लागि साउदी अरब गएको दशक भयो । तर, फर्किएका छैनन् । अन्य साथीहरुको बाबाले विदेशबाट नयाँ लुगा, मिठाई, खेल्ने सामाग्री ल्याउँदा तीनै जना छोरीहरुको मन कटक्क पोल्छ । र, आमालाई सोध्छन्, ‘आमा, आमा, हाम्रो बाबा कहिले आउनुहुन्छ ?’ अनुत्तरित्त आमा मनमा ढुंगा राखेर बालमनोविज्ञानलाई बुझ्दै सधै एउटै जवाफ फर्काउन्छिन्, ‘छिटै आउनुहुन्छ ।’
यादव परिवार आर्थिक अवस्थाले थलिएपछि रामआशिष घरको गुजारा चलाउनका लागि लेबरको काममा साउदी अरब बिदेसिए । बिदेसिनका लागि दुई लाख रुपैयाँ ऋण लिनुपर्यो । रुपन्देहीको कंचन गाउँपालिका–४ का दुर्गाप्रसाद शर्मा पनि रोजगारीको लागि साउदी पुगे । दुवै जनाबीच चिनजान थिएन । तर, संयोगले दुवै साउदीको ताबुक स्थित एउटै कम्पनीमा काम गर्न पुगे । एउटै कोठामा बसेर काम गर्न थाले । करिब ६ वर्ष अघि सन् २०१८ अक्टुबरमा मादक पदार्थ सेवन गरी दुवैजना बीच झगडा भयो । र, यादवले छुरा प्रहार गरी शर्माको हत्या गरे । साउदी प्रहरीले कर्तव्य ज्यान मुद्दामा यादवलाई पक्राउ गर्यो । प्रहरीले पक्राउ गरेको ६ महिनापछि मात्र घरमा खबर पुग्यो । ताबुक स्थित क्रिमिनल कोर्टले सन् २०२० डिसेम्बर २० मा पब्लिक राईट अन्र्तगत यादवलाई मुद्दामा दोषी ठहराउँदै पाँच वर्ष र मादक पदार्थ उत्पादन, विक्री तथा सेवन गरेको अभियोगमा थप एक वर्ष गरी ६ वर्षको जेल सजाएको फैसला सुनायो । यादवले जेल सजाए भुक्तान गरिरहेका छन् ।
Advertisement

Advertisement
Advertisement

विषय त्यहाँको राजदूतावासमा पुगिसकेको थियो । त्यसपश्चात साउदीको जेद्दा स्थित नेपाली कन्सुलेट जनरलले कन्सुलर सेवा विभाग मार्फत प्राईभेट राईट अन्र्तगत पीडकलाई साउदीको कानून अनुरुप अधिकतम सजाए (मृत्युदण्ड सम्मको) को दावी गर्ने वा क्षतिपूर्ति सहितको माफीमा मन्जुरीनामा दिने भन्दै रुपन्देहीमा रहेको मृतक परिवारसगँ निर्णय माग्यो । मृतक परिवारले पीडक परिवारसगँ सम्पर्क नरहेकोले निर्णय लिन नसकिएको जवाफ दियो । त्यपछि जनरलबाट जेलमा रहेका यादवलाई भेट गर्न कर्मचारी पठाइयो । भेटमा जनरलको तर्फबाट पीडक परिवारले मृतक परिवारसगँ छलफल गरी सहमतीमा माफीको रकम तोक्न सके दुवै पक्षलाई हित हुने यादवलाई सुझाइएको थियो ।
कुराकानीसहितको घटना विवरणबारे उल्लेख गर्दै नेपाली कन्सुलेट जनरलबाट मृतक र पीडक पक्षका परिवारसँग आवश्यक समन्वय गरेर महावाणिज्यदूतावासलाई आवश्यक कागजात पठाइदिने भन्दै कन्सुलर सेवा विभागलाई बोधार्थमा दिदै परराष्ट्र मन्त्रालयलाई पत्राचार भयो । पीडत परिवारका ससुरा मामाका प्रभु यादवका अनुसार कन्सुलर सेवा विभाग मार्फत मृतक पक्षसँगको छलफलमा माफी रकम (ब्लड मनी) ७० लाख रुपैयाँ माग भएपछि दिन सक्ने अवस्था रहेन । त्यसपछि भान्जा ज्वाइँ फर्किने आशा मारेर उनी जनकपुर फिर्ता भए । पटक पटक छलफलमा पनि ‘ब्लड मनी’ मा कुरा मिलेन । यादव परिवारको सम्पूर्ण जायजेथा बेचेर पनि त्यती रकम दिने अवस्था थिएन् । जसकारण उनीहरु आशा मारे बसे ।
कुराकानी नमिलेपछि जनरलको पत्र संग्लन गरी विभागले जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई ०८० चैत १२ गते घटनाबारे जानकारी पत्र पठायो । प्रशासन कार्यालयले जनताको दैलोको सरकार र सुःख, दुःखमा साथ उभिने भएकोले आवश्यक सहजीकरण र सहयोग हुने अपेक्षा सहित कंचन गाउँपालिका वडा नम्बर ४ को कार्यालयलाई पत्राचार गर्यो । वडा कार्यालयले ‘केही गर्न नसक्ने’ आशायको जवाफ फर्कायो ।
तर, भ्रष्टाचारले डुंगडुगती गनाएका मुलुकका स्थानीय तहहरुमध्ये साइनो रहेको पीडकको न जनकपुरधाम उपमहानगरपालिकाले साउदी जेलमा रहेको आफ्नो पालिकावासीका लागि ‘ब्लड मनी’ उपलब्ध गराएर जोगाउन खोज्यो न त मृतकको कंचन गाउँपालिका जनप्रतिनिधी लगायतले नै मानवता देखाए । साउदी जेलमा रहेका नेपालीलाई जोगाउनका लागि स्थानीय सरकारहरु उदार भएनन् । दुवै पालिकाको सुक्ष्म रुपमा योजना÷कार्यक्रमका फाइल अनुसन्धान गरे भष्टाचारका अनेक नमुना फेला पर्ने उत्तिकै सम्भावना छ । तर, दुवै सरकारका नेतृत्वकर्ताहरुले सरकारी रकम नभएपनि अभियान चलाएर संकलन गर्न सकिने ‘ब्लड मनी’ प्रति चासो देखाएनन् । नागरिकप्रति स्वार्थी निस्किए । ‘ब्लड मनी’ जुटाएर श्रीमानलाई जोगाउन लागि जनकपुरको गल्ली–गल्लीमा दौडिएर हात फैलाए पनि कसैले सहयोग नगरेको पीडककी श्रीमती रेनुकुमारी यादवले भक्कानिँदै सुनाइन् ।
यादवलाई जोगाउनका लागि स्थानीय सरकारहरु तयार नभएपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडिओ) गणेश अर्यालले धुनषा प्रशासनसगँ ‘ब्लड मनी’ व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरे । तर, उताबाट पनि खासै पहल नभएको अर्याल बताउँछन् । ‘ब्लड मनी’ को कतैबाट पनि व्यवस्थापन नभएपछि जेलमा रहेका यादवका लागि मृतक परिवारसगँ अधिकतम सजाए (मृत्युदण्ड सम्म) को दावी गराएर कागज पठाउनुपर्ने अर्यालको समक्ष कठिन परिस्थिती आइपुग्यो ।‘एक जनाको मृत्यु भइसकेको र अर्कोको अधिकतम सजाए (मृत्युदण्ड सम्म) को लागि कागज बनाएर पठाउनु पर्ने अवस्था आएपछि मन धेरै चिन्तित हुन पुग्यो’ सीडिओ अर्यालले भने, ‘पैसाकै अभावमा कसैलाई मर्न दिनुहुदैन भन्ने पक्षमा गए ।’
सीडिओ अर्याल र पीडक परिवारलाई लिएर मृतक परिवारको घरमा माफीको अपेक्षा सहित पुगे । मृतक परिवार ‘ब्लड मनी’ लिएर माफीमा अख्तियारानामा दिन तयार थिएनन् । तर, पनि सीडिओ अर्याल दुवै परिवारलाई मिलाउन वातावारण बनाउनमा लागि रहे । पटक–पटक भेटघाट र छलफल गरे । तर, हार मानेनन् । ‘नहुनु भइसक्यो । परिस्थितीले तपाईको सिउँदो पुछियो तर तपाईको निर्णयले अर्को महिलालाई एकल नबाईदिनुस् । महान व्यक्तिले मात्र माफी दिन सक्छन् । उदार बनिदिनुस् भनेर धेरै सम्झाएँ’ सीडिओ अर्यालले भने, ‘सुरुमा उहाँ (मृतकको श्रीमती) मान्नुभएको थिएन, जुन स्वाभाविक पनि थियो । तर, सबैले आग्रह गरेपछि उहाँ ‘ब्लड मनी’ लिएर माफीमा अख्तियारानामा दिन तयार हुनुभयो ।’ जसमा कञ्चन गाउँपालिका अध्यक्ष र मृतकका दाजु मेघनाथ शर्माले सहयोग गरेको उनले बताए ।

मृतक परिवार तयार भएपछि ‘ब्लड मनी’ जम्मा गर्नु सीडिओ अर्याल समक्ष अर्को संकट आइपर्यो । किनभने पीडक परिवारको अवस्था दयनीय थियो । त्यसपछि सहयोगबाट ‘मुख फर्काएका’ स्थानीय सरकारहरु भन्दा माथी उठेर सीडिओ अर्यालले असल प्रशासक भुमिका निर्वाह गरेको भन्दै स्थानीयहरुले प्रशंसा गरेका छन् । ‘हामीले हाम्रो स्तरबाट बुझ्दा यादव परिवार ‘ब्लड मनी’ दिन सक्ने अवस्थामा थिएनन्’ , उनले भने, ‘कसैले सहयोग नगरेपछि मैले आफै व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ जम्मा गरेर ‘ब्लड मनी’ को सुरुवात गरे । किनभने विदेशी भूमिबाट नेपालीको ज्यान जोगाएर आमासगँ बाबा कहिले आउनुहुन्छ ? भनेर सधै प्रश्न गरिरहने र खेपिरहेने आमा र छोरीहरुसगँ मिलन जो गराउनु थियो ।’ दुई जना सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, चिरञ्जिवी राना, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौर, सशस्त्र प्रहरी बल रुपन्देहीका एसपी आनन्द थापा र राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालयका प्रमुख उप–अनुसन्धान निर्देशक हरिषबहादुर विष्टले पनि स्वचेछिक रुपमा २५/२५ हजार रुपैयाँ जम्मा गरे । रकम संकलन हुन थाल्यो ।
त्यसपछि अर्यालले भैरहवाका व्यापारी, समाजिक व्यक्तित्वहरुसगँ घटनाबारे छलफल गरेर ‘ब्लड मनी’ जुटाउन अनुरोध गरे । सबै तयार भए । कुल ३६ लाख २५ हजार रुपैयाँ संकलन भयो । पीडक परिवारले पनि अढाई धुरमा रहेको फुसको घर र १५ धुर जग्गा गरी सम्पूर्ण जायजेथा बेचेर सात लाख रुपैयाँ जम्मा गर्यो र ऋण काढेर तीन लाख गरी दश लाख जुटायो । दुवै गरेर ४६ लाख २५ हजार ‘ब्लड मनी’ मृतकको श्रीमती सीता शर्मालाई उद्योगी वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा सहितले बैंकमा जम्मा गरिएको रकमको भौचर हसान्ततरण गरे । भौचर बुझ्दै गर्दा मृतककी श्रीमती भक्कानिएकी थिइन् । श्रीमती शर्माले माफीमा मन्जुरीनामा सहितको अख्तियारीनामा दिइन् ।

उता यादवकी श्रीमतीले जीवनकै ठुलो गुण लगाएको सम्झिएर सीडिओ अर्याललाई समाएर रुन थालिन् । सीडिओ अर्याल पनि भावुक हुदै आँखा रसाएर आँसु झर्न थालेपछि उठेर कार्यकक्ष तर्फ लागे । महासंघका अध्यक्ष कृष्णप्रसाद शर्माले बजारको आर्थिक अवस्था राम्रो नरहेपनि सामाजिक उत्तरदायित्व अन्र्तगत रकम संकलन गरी सहयोग गरिएको बताए । मृतक परिवारका तर्फबाट प्राप्त माफीमा मन्जुरीनामा सहितको अख्तियारीनामा कन्सुलर सेवा विभाग पठाइएको अर्यालले बताए ।
‘अदालतले यादवविरुद्ध मृत्युदण्डको सजाए नै फैसला सुनाएको होइन् । ६ वर्ष जेल सजाए भएको हो’, कन्सुलर सेवा विभागका कानुन अधिकृत कृष्णप्रसाद बस्यालले क्लिक लुम्बिनीसगँ भने, ‘त्यही सजाएमा पनि मृतक परिवारलाई चित्त नबुझे अधिकतम सजाए (मृत्युदण्ड सम्म) को लागि दावी गर्ने सक्ने वा क्षतिपूर्ती सहित माफी दिने विषय थियो । अधिकतम सजाएका लागि दावी गरेको भए जेल सजाए बढ्ने वा मृत्युदण्ड सजाएको सम्भावना पनि रहन्थ्यो । जसलाई नकार्न सकिदैन । त्यो अदालतले विचार गर्ने विषय हो । तर, मृतक परिवारले क्षतिपूर्ती सहित माफीमा मन्जुरीनामा दिनु भएको छ । त्यसै अनुसार प्रक्रिया अघि बढाउँछौँ ।’ उनले प्रशासन कार्यालयबाट प्राप्त कागजपत्रहरु साउदी पठाइने र प्रक्रिया पुरा पश्चात यादव स्वदेश फर्किने बताए । ‘अब जेलमा रहेका यादवको रिहाईको लागि प्रक्रिया सुरु हुन्छ’, उनले भने, ‘प्रक्रिया पुरा हुनका लागि केही समय लाग्छ । यादवले पाएको ६ वर्ष जेल सजाए भुक्तान अघि नै प्रक्रिया पुरा भए पहिल्यै रिहाई हुन्छ, नभए केही समय लाग्न सक्छ तर उनी स्वदेश फर्किन्छन् ।’
पीडकको श्रीमती यादवले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी र यहाँका व्यवसायी आफ्नो परिवारका लागि भगवान सरह भएको बताइन् । ‘धेरैजनासगँ सहयोग माग्यौं । निकै भौतारियौं । कसैले सहयोग नगरेपछि हामीले श्रीमान फर्किने आशा मारिसकेका थियौँ । तर, चिनजान नै नरहेको सीडिओ साहबले सहयोग गर्नुभयो’, स्थानीय मैथिली भाषमा बोल्दै उनले भनिन्, ‘हामीहरुका लागि उहाँ भगवान् बनेर आउनु भयो । अब सीडिओ साहबको फोटो लगेर उहाँको पूजा गर्छौँ ।’ जसका लागि पीडक परिवारले सीडिओ अर्याललाई वास्तविकता जानकारी नगराई साथमा फोटो खिच्ने अनुरोध गरेर फोटो लिएर बसमा जनकपुरधाम फर्किएका छन् । कागजी प्रक्रिया अघि बढेपछि सामुहिक तस्विर खिचाउने क्रममा सीडिओ अर्यालले यादव परिवारलाई भने– ‘अब चिन्ता नलिनुहोस् । मैले सकेको गरेको हुँ । रामआशिष छिट्टै घर फर्किनेछन् ।’

