
भैरहवा, २७ असार । पछिल्लो समययता भैरहवा भन्सार कार्यालयले भन्सार छलीविरुद्ध निकै सक्रियता देखाएको छ । कार्यालयले भन्सार छलेर भित्राइएको सामग्री धमाधम बरामद गरिरहेको छ । कहिले भन्सार छलेर भित्राइएको गाडीसहित लत्ता कपडा त कहिले चामल । भैरहवा भन्सार कार्यालयमा प्रमुख गौतम आएपछि उनले अभियान नै चलाएर तिव्र रुपमा भन्सार छलेर भित्राइएका समाग्रीहरु नियन्त्रण लिन थालेका छन् । भन्सार छलेर निर्यात गर्न लागिएको र आयात गरिएको अवस्थामा प्रयोग भएको गाडी तथा मानिससहित टुथपेस्ट, चामल, प्याज, लत्ताकपडा लगायतका समाग्रीहरु बरामद गर्ने क्रम जारी रहेको भन्सार कार्यालयले जनाएको छ ।
यस्तै कार्यालयले बिहिवार भैरहवाको गल्लामण्डीबाट ठूलो परिमाणमा चिनी र केराउ मटर बरामद गरेको छ । भन्सार छलेर भित्राइएको आशंकामा भैरहवाको खाद्यन्न बजार गल्लामण्डीबाट चिनी र केराउ मटर बरामद गरिएको कार्यालयले जनाएको छ । खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरुले साइकलमा भन्सार छलेर थोरै परिमाणमा चिनी, मटर लगायत समाग्री भित्राएर डम्प गर्ने गर्दछन् । परिमाण धेरै भएपछि नक्कली बिजक जारी गरेर गाडीमा मुलुकका विभिन्न स्थानमा पठाउने गर्ने गरेका छन् । अन्य नाका भन्दा मेउडिहवा र दुर्गौलिया नाकाबाट चिनीको तस्करी बढी हुने गरेको छ ।
Advertisement

Advertisement
Advertisement

गल्लामण्डीको सुगरमिल क्षेत्र स्थित ट्रकमा लोड गरिरहेको अवस्थामा ५ लाख ७४ हजार रुपैयाँ बराबरको एक सय तीस बोरा (६५०० किलो) चिनी र ६८ बोरा (१७०० किलो) केराउ मटर बरामद गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए । साथै, प्र२०३००१ ख ०७०५ नम्बर ट्रक समेत नियन्त्रणमा लिएको र ट्रक चालक फरार भएको उनले बताए । ‘बरामद समाग्रीको प्रज्ञापन पत्र/बिजक फेला नपरेको अवस्थामा समाग्री र प्रयोग भएको ट्रक नियन्त्रणमा लिएका हौँ’, प्रमुख गौतमले भने, ‘समाग्री दावी गर्ने आउने फर्म/व्यक्तिसगँ आवश्यक कागज लिएर जाँचबुझ गर्छौँ । कानुन बमोजिम नपाइए कारवाही प्रक्रिया अगाडी बढाउँछौँ ।’

