


काठमाडौं, ९ साउन । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । बुधवार विमान दुर्घटनापश्चात मन्त्रिपरिषद्को बसेको आकस्मिक बैठकले विमान दुर्घटनाबारे छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् । आयोगलाई जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिएको प्रवक्ता गुरुङले बताए । उनका अनुसार आगामी दिनमा हवाइ दुर्घटना हुन नदिन आन्तरिक वायु सेवा चलाइरहेका सबै वायुसेवाले नियमित हवाई परीक्षण गराउनुपर्ने र त्यसको नेपाल नागरिक उड्डयान प्राधिकरणले त्यसको सघन अनुगमन गर्ने निर्णय समेत भएको छ ।

बुधवार काठमाण्डौँबाट पोखराका लागि उडान भरेलग्त्तै सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो । विमानमा चालकदलसहित १९ जना सवार थिए । जसमा १८ जनाको मृत्यु भइसकेको छ भने विमानका घाइते भएका पाइलट मनिष शाक्यको अस्पतालमा उपचार भइरहेका छन् । मृतक सबै एयरलाइन्सका कर्मचारी र केही कर्मचारीका परिवारका सदस्य थिए ।

