
भैरहवा, ११ साउन । रुपन्देहीको भैरहवामा भएको बजारमा अनुगमनको क्रममा मिष्ठान क्षेत्रका प्रतिष्ठानहरुमा कैफियत भेटिएको छ । जिल्ला बजार अनुगमन समितिले गरेको अनुगमनमा माखनभोग स्वीट्सले उत्पादन गरेर राखेको मिठाई (रसबरी) मा स–साना किरा भेटिएको छ भने पवन मिष्ठान भण्डारमा लेबल नभएको पनिर बरामद भएको छ । साथै, दुवै प्रतिष्ठानमा सरसफाई समेत नरहेको अनुगमन समितिले पाएको छ ।
माखनभोगमा अनुगमनको क्रममा दश किलो मिठाईमा किरा र चार बोतल म्याद ग्रुजिएको कोकाकोला ब्राण्डको पयेपदार्थ भेटिएपछि उक्त साम्रगीहरु नष्ट गरेर सचेत गराइएको रुपन्देहीका जिल्ला बजार अनुगमन समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । अखाद्य मिठाई विक्री गर्दा जनस्वास्थ्यमा पर्नसक्ने असरलाई मध्यनजर गर्दै मिठाई र पयेपदार्थ नष्ट गरिएको उनले बताए । उनका अनुसार स्वीट्सका संचालकलाई आगामी दिनमा खाद्यवस्तु उत्पादनमा विशेष ध्यान दिन र सरसफाई राख्न निर्देशन दिइएकोले पुनः अनुगमनमा सुधार नभएको पाइएमा कारवाही गरिनेछ ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै पवन मिष्ठान भण्डारमा अनुगमनको क्रममा लेबल नभएको साढे दुई किलो पनिर भेटिएपछि नष्ट गरिएको छ । यहाँ पनि सरसफाइमा विशेष ध्यान दिन अनुगमन समितिले निर्देशन दिदै सुधारका लागि सचेत गराएको छ । साँवरिया प्रिमियम स्वीट्समा खाद्य मापदण्ड पालना गरेको पाइएको संयोजक अर्यालले बताए । उनले बजार अनुगमनलाई निरन्तरता दिएको बताउँदै कानूनले बर्जित गतिविधि गरेको पाइएमा कारवाही गरिने बताए । प्रतिनिधिमूलक रुपमा तीन वटा मिष्ठानमा अनुगमन गरिएपनि आगामी दिनमा मिष्ठानका साथै अन्य क्षेत्रमा पनि अनुगमन गरिने उनको भनाई छ ।

