
सलमान खान
भैरहवा, २२ साउन । बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमलाई लिएर देशका विभिन्न सीमानाकासहित रुपन्देहीमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सोमबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षामा समितिको बैठकले नेपाल–भारत खुल्ला सीमाका कारण शरणार्थीहरु बढ्न सक्ने आंकलन गर्दै सीमानाकाहरुमा उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ । जस अनुसार रुपन्देहीका सीमाहरुमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।
बंगलादेशमा विद्यार्थीहरुले आरक्षणको विषयलाई लिएर आन्दोलन चर्काएपछि करिब दुई दशक सत्ता चलाएकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छिन् । आन्दोलनकारीहरुले हसिनाआवद्ध पार्टीका समर्थक, नेताहरुको घर तोडफोड, हत्या, आगाजनी जस्ता क्रियाकलाप गरेकोले हसिना समर्थक र रोहिंग्या शरणार्थी सुरक्षित स्थानको खोजीमा भारत हुदै नेपाल आउन सक्ने सुरक्षा निकायहरुको विश्लेषण छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जसलाई रोक्नका लागि नेपाल–भारतमा सीमामा कडाई गर्नुपर्ने सुरक्षा निकायका प्रमुखहरुले बैठकमा सुझाव राखेपछि गृहले सीमामा सतर्कता अपनाउन सीमावर्ती जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो । बैठकमा गृहसचिव एकनारायण अर्याल, नेपाली सेनाका रथि अशोक सिग्देल, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल, नेपाल प्रहरीका आईजीपी बसन्त कुवँर र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए ।
बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमलाई लिएर निर्देशअनुसार सीमामा उच्च सुरक्षा सतर्कता अपनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडिओ) गणेश अर्यालले जानकारी दिए । ‘अन्तर्राष्ट्रिय सीमानाकामा भइरहेको गतिविधी र सीमाबाट आवतजावत गर्ने नेपाली र विदेशी नागरिकहरुलाई निगरानीमा राखिएको छ’ सीडिओ अर्याललले क्लिक लुम्बिनीसगँ भने,‘सीामाबाट आवतजावत गर्ने व्यक्तिहरुको कडाईका साथ जाँच समेत गरिरहेका छौँ ।’
सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोलीहरु खटाइएको छ । राष्ट्रिय अनुसन्धान विभागले सीमाको गतिविधि नजिकबाट नियालिरहेको छ भने सशसत्र र नेपाल प्रहरीले पनि सूचनाका साथै चेकजाँचमा कडाई गरेका छन् । नेपाली सेनाले पनि आफ्नै तवरले सीमासगँ सम्बन्धित गतिविधीका सूचनाहरु संकलन गर्ने गरेको छ ।
‘केन्द्रीय सुरक्षामा समितिको बैठकमा भारतबाट हुन सक्ने अनधिकृत घुसपैठ रोक्नका लागि सीमामा कडाई गर्नुपर्ने निश्कर्ष निस्किएपछि सोही अनुसार सोमबार साँझ गृहले सीमावर्ती जिल्लाहरुमा कडाईका लागि परिपत्र गरेको थियो’, एक अधिकारीले क्लिक लुम्बिनीसगँ भने, ‘जस अनुसार अहिले सीमामा थप कडाईका साथ उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।’
गृहले नाकामा सुरक्षा सतर्कता अपनाउनका लागि परिपत्र गरेपछि जिल्ला सुरक्षा समिति रुपन्देहीको बैठक बसेको थियो । बैठकले परिपत्रलाई तत्काल कार्यान्वयनमा लैजान गरी आन्तिरक रणनीति बनाएर सीमामा सुरक्षा सतर्कता अपनाएको छ । ‘आज (मंगलबार) बिहानबाट कडाईका साथ जाँच गर्ने निर्देशन आएपछि सोही अनुसार खटिएका छौँ’, सीमा सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले भने, ‘विदेशी नागरिकको ‘मुभमेन्ट’लाई नजिकबाट नियाल्दैछौँ । अहिलेसम्म शंकास्पद गतिविधी भएको पाइएको छैन ।’
सीमा सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्याललेको पहलमा केही समय अघि मात्रै रुपन्देहीको बेलहिया र कर्करहवा नाकामा ‘वाक थ्रु’ प्रविधि जडान भएपछि सीमा सुरक्षाका लागि केही सहजता भएको छ ।

