


भैरहवा, ३२ साउन । रुपन्देही प्रहरीले भन्सार छलेर भित्राइएको केराउ र कपडा बरामद गरेको छ । विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छलेर ल्याईएको अवस्थामा ८ लाख ७१ हजार मूल्य बराबरको साम्रगीहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहर प्रसाद भट्टका अनुसार विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भन्सार छलेर भित्राइएको ८४ बोरा (२१०० केजी) केराउ र कपडा (लुङगी) ६४ थान बरामद भएको छ । साथै, भन्सार छली प्रयोगमा भएको नम्बर नखुलेको एउटा मिनी ट्रक, लु २ प ७०६, लु १५ प ४९२२, लु १४ प ९९४६ नम्बरको तीन थान मोटरसाइकल र संग्लन एक जना व्यक्तिलाई पनि पक्राउ गरिएको उनले बताए । जिल्लामा रंजितसिंह राठौर प्रहरी प्रमुखको रुपमा आएपछि तस्करी विरुद्ध प्रहरी आक्रमक रुपमा उत्रिएको छ । भन्सार छली भित्राइएको सामग्रीहरु प्रहरीले धमाधम बरामद गरिरहेको छ ।

‘जिल्लामा कानुन कार्यान्वयनका साथै शान्ति,सुरक्षा कायम राख्न हाम्रो पहिलो प्राथमिकता हो ।भन्सार छली हाम्रो सेकेण्ड प्राथमिकतामा पर्छ’, रुपन्देहीका एसपी राठौरले भने, ‘जिल्लाको शान्ति,सुरक्षामा असर नपरोस् भनी हामी भन्सार छलीविरुद्ध पनि आक्रमक रुपमा फिल्डमा खटिएका छौँ ।’

