
भैरहवा, १३ मंसिर । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले आयोजना गर्न लागेको लुम्बिनी राष्ट्रिय महोत्सवमा निःशुल्क माटो परिक्षणको व्यवस्था मिलाएको छ । महोत्सवमा निःशुल्क माटोको परिक्षणले यस क्षेत्रका किसानहरु लाभान्वित हुने आयोजकको विश्वास छ ।
भैरहवाको अंचलपुरमा मंसिर २० देखि पुस १ सम्म चल्ने महोत्सवमा मंसिर २६, २७ र २८ गते तीन दिन माटो परीक्षणका लागि समयावधि तोकिएको छ ।
Advertisement

Advertisement
Advertisement

‘कृषि क्षेत्रमा रासायनिक मलको प्रयोगले उब्जनीको कमीले किसानहरुले चाहेको जति उब्जनी बढाउन सकेका छैनन्’, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘अब के गर्ने ? कसरी गर्ने ? भन्ने विषयको पनि केहीलाई जानकारी छैन । जसकारण पनि हामीले महोत्सवमा माटो परीक्षण शिविर लगाउँदैछौँ । शिविरले किसानहरु लाभान्वित हुने विश्वास लिएका छौँ ।’
माटो बिश्लेषणको भरपर्दो प्रतिवेदन प्राप्त गर्नको लागी नमुना संकलन गर्दा राम्रो ध्यान दिनु जरुरी हुन्छ । नमुना संकलन गर्दा ध्यान नदिई जथाभावी नमुना संकलन गरेमा माटो विश्लेषणको प्रतिवेदन भरपर्दो नहुन सक्ने हुँदा तपसिलका कुराहरुमा ध्यान दिनु पर्दछ ।
• धेरै ठुलो जमिनबाट नुमना संकलन गर्दा एक ठाउँबाट मात्र नमुना संकलन नगरी धेरै ठाउँबाट संकलन गर्नु राम्रो हुन्छ ।
• माटोका नमुना संकलन गरी सकेपछि रुखमुनी छहारीमा वा अन्य घाम नपर्ने ठाउँमा सुकाई ओभानो हुन दिनु पर्दछ र ढुङ्गा, झारपात हटाउनु पर्दछ ।
• राम्रोसंग सुकेपछि माटो धुलो पारी मिसाउनु पर्दछ र आधा किलो माटो प्लाष्टिक वा कपडाको थैलोमा राख्नु पर्दछ । धेरै ठाउँबाट नमुना संकलन गरी मिसाउँदा धेरै माटो भएमा त्यसलाई कम गरी आधा बनाउनु पर्दछ ।
• माटोको नमुना लिई सकेपछि नमुनामा कृषकको नाम, खेतबारीको किसिम, यस अघि प्रयोग गरेको मलखादको मात्रा, यस अघि लगाएको बालीको अवस्था, पछि लगाउने बालीको किसिम आदी राम्रोसँग लखी टास्नु पर्दछ ।
• नमुना संकलन गर्ने जमिनको माटोको रङ्ग, वनावट आदी फरक फरक छ भने फरक फरक रङ्ग वा वनोट भएको माटोको नुमना छुट्टाछुट्टै संकलन गर्नु पर्दछ ।
• नमुना संकलन गर्दा आली, कान्ला, पानीको मुहान वा निकासको नजिकबाट संकलन गर्नु हुँदैन ।
• भर्खरै मात्र मलखाद प्रयोग गरेको ठाउँबाट पनि नमुना संकलन गर्नु हुँदैन । सकभर बाली लिई सकेपछि नमुना संकलन गर्नु पर्दछ ।
• ठुलो वर्षा वा पानी परेको लगत्तै नमुना संकलन गर्नु हुदैन । सकभर वर्षा सुरु हुनु अघि नमुना संकलन गर्दा राम्रो हुन्छ तर धेरै सुख्खा माटोमा नमुना संकलन गर्न गाह्रो पर्ने हुँदा केही चिसो भएको बेला नमुना संकलन गर्नु पर्दछ ।
• मल थुपारेको ठाउँ वा गाई बस्तु बाधेको ठाउँबाट नमुना संकलन गर्नु हुँदैन ।
माटोको परिक्षण किन गर्ने ?
खेतीको मुख्य आधार नै माटो हो। बाली, बिरुवा माटोमै उम्रन्छन्, बढ्छन् र आफूलाई आवश्यक पर्ने खाद्यतत्व पनि माटोबाटै लिन्छन् । तसर्थ सफल तथा दिगो कृषि उत्पादनको लागि माटोको भौतिक रासायनिक तथा जैविक गुणहरु धेरै महत्वपूर्ण हुन्छ ।
परम्परागत खेति प्रणालीमा बाली सघनता कम हुनु, बालीको उत्पादन क्षमता र उत्पादकत्व पनि कम हुने हुँदा गोठेमल (कम्पोष्ट) को प्रयोग बाट मात्र पनि कृषि उत्पादन दिगो थियो ।
तर बिगत केही दशकबाट बाली सघनतामा वृद्धी, बढी उत्पादन दिने जातहरुको खेती, प्रांगारिक मलको कमी तथा रासायनिक मलको असन्तुलित प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै जाने, र उत्पादन पनि घट्दै गएको अवस्था छ ।
तसर्थ सफल र दिगो कृषि उत्पादनको लागि माटोको उचित व्यवस्थापन गरी उर्वराशक्ति कायम राख्न वा सुधार गर्न नसके भविष्यमा कृषि उत्पादन र उत्पादकत्व घट्दै जाने निश्चित छ ।
माटोको नमूना किन लिने ?
हामी कहाँ माटोको उवर्राशक्ति के कति छ र त्यसको सुधार वा व्यवस्थापन गर्न के गर्नु पर्दछ भन्ने थाहा पाउनको लागी माटो परिक्षण गराउने परम्परा अझै बसेको छैन । यदाकदा माटोका अम्लियपना थाहा पाउनको लागी अम्लियपनाको जाँच र अम्लियपनाको सुधार गर्नुको लागी कृषि चुनको प्रयोग गर्न कृषि प्राविधिक तथा कृषि चुन उद्योग समेतले प्रयास गर्दै आए पनि सो को प्रभावकारी उपयोग भएको भने पाईदैन ।
तर, बिगत केही दशकबाट बढी उत्पादन दिने नयाँ जातको खेती गरिनु नाईट्रोजन यूक्त मलको बढ्दो प्रयोग, भु-क्षय आदी कारणले गर्दा माटोको उर्वराशक्तिमा प्रतिकुल प्रभाव परी उत्पादन घट्दै गएको विषय कृषकहरुले समेत महसुस गर्न थालेका छन् ।
तसर्थ, माटोको उर्वराशक्ति कायम राखी उत्पादनलाई कायम राख्न समय समयमा आफ्नो खेतबारीको माटो परिक्षण गराई माटोको अम्लियपना तथा उर्वराशक्ति बारे जानकारी राखी माटो व्यवस्थापन कार्य गर्नु पर्दछ ।
अन्न बाली तथा तरकारी बालीको लागी नमुना सकंलन गर्ने तरिका
माटोमा निहित खाद्यतत्व तथा अम्लियपनाको जानकारी लिन साधारणतया अन्न बाली तथा तरकारी बिरुवाको पनि खाना सोस्ने जराहरु जमिनको माथिल्लो सतह मै छरिएर रहेका हुन्छन् । नमुना संकलन गर्दा सानो ठाउँ छ भने ७ वा ८ ठाउँबाट माटो संकलन गर्नुपर्छ ।
यदि ठूलो जग्गा छ भने २०-२५ स्थानबाट नमुना संकलन गर्नुपर्छ । नमुना संकलन गरिसकेपछि सबै नमुनालाई मिसाउनुपर्दछ । स्थानीय स्तरमा कुटो, खुर्पीले नमुना लिन सकिन्छ । नमुना लिँदा सबै ठाउँबाट बराबर माटो लिनुपर्दछ । नमुना संकलन गर्दा कति गहिराईको माटो लिने भनेर लगाउने बालीमा पनि भर पर्दछ ।
त्यसैले कुनै पनि माटोको अम्लियपना थाहा पाउन र बिरुवाको पोषक तत्वहरु माटोमा कति छ भन्ने थाहा पाउन साधरणतया जमिनको सतह देखि १५-२० सेन्टिमिटर तल सम्मको माटो मात्र संकलन गरे हुन्छ ।
फलफुल बालीको लागी नमुना सकंलन गर्ने तरिका
जस्तैः फलफुल बोट बिरुवा लगाउनको लागी जमिनको माथिल्ले माटो मात्र राम्रो भएर पुग्दैन । उक्त माटोमा बिरुवाको जरा राम्रोसँग बढ्न सक्छ वा सक्दैन ।
निकासको राम्रो व्यवस्था छ छैन वा तल्लो सतहको माटोको भौतिक अवस्था कस्तो छ भन्ने पनि थाहा पाउनु आवश्यक हुन्छ । तसर्थ फलफुल बोट बिरुवा वा अन्य गहिराई सम्म जरा जाने बिरुवा लगाउनु अघि उक्त जमिनमा ३ फिट गहिरो खाडल खनि सतह देखी १५ से.मी. सम्मको छुट्टै, १५-३० से.मी. सम्मको छुट्टै, ३०-६० से.मी. सम्मको छुट्टै र ६०-९० से.मी. सम्मको छुट्टै नमुना संकलन गर्नु पर्दछ । (गण्डकी प्रदेश सरकारको माटो तथा मल परिक्षण प्रयोगशालाको सहयोगमा माटोको नमुना संकलन विधि उल्लेख गरिएको छ)

