


वासिङटन डिसी, २९ माघ। अतिवादी समूह हमासले बन्धकहरुको रिहाइ रोक्ने घोषणासँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धकहरुलाई रिहा नगरे युद्धविरामको सम्झौता रद्ध गर्ने बताएका छन् ।
ट्रम्पले शनिबार १२ बजेसम्ममा सबै बन्धकहरूलाई गर्नका लागि समयसीमा तोकेका छन् । तर समयसीमा शनिबार दिउँसो १२ बजेको हो कि मध्यरात १२ बजेको भन्ने विषयमा स्पष्ट छैन।

ट्रम्पले गाजा युद्धविरामको लागि आफ्नो तर्फबाट समयसीमा तोक्दै भने, ‘यदि शनिबार १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा गरिएन भने सम्झौता रद्द गरिनेछ। सबै बाटोहरू बन्द हुनेछन्। विनाश सिर्जना हुनेछ।’
समयसीमामा बन्धक रिहाइ नगरे के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफ दिंदै राष्ट्रपति ट्रम्पले भने,‘तपाईंले थाहा पाउनुहुनेछ र तिनीहरूले पनि थाहा पाउनेछन्। हमासले मेरो मतलब के हो भनेर बुझ्नेछ।’
हमासको बन्दी रिहाइ रोक्ने निर्णय
यसअघि हमासले इजरायली बन्धकहरूको रिहाइ रोक्ने जनाएको थियो। हमासले इजरायलमाथि युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ।
हमासले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘विगत तीन हप्तामा शत्रुले बारम्बार युद्धविराम सम्झौताको उल्लंघन गरिरहेको र सम्झौताका सर्तहरू पालना नगरेको देखिएको छ। यी उल्लंघनहरुमा उत्तरी गाजामा विस्थापित प्यालेस्टिनीहरूको फिर्तीमा ढिलाइ पनि समावेश छ।’
यसबाहेक हमासले गाजा पट्टीका धेरै क्षेत्रमा गोलीबारी गरेको आरोप पनि लगाएको छ। बीबीसी

